पोखरा नर्सिङ क्याम्पस पोखराले विभिन्न कार्यक्रम गरी मंगलबार वार्षिकोत्सव मनाएको छ । २०३९ फागुन १७ गते स्थापना भएको क्याम्पस आरम्भमा ४० विद्यार्थी र न्यून संख्यामा शिक्षक कर्मचारी थिए । सिएमए कार्यक्रमबाट सुरु भएको क्याम्पसमा हाल प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म पढाइ हुन्छ ।
क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले पोखरा नर्सिङ क्याम्पसले नियमित रुपमा सञ्चालन भइरहेका दैनिक शैक्षिक, प्रशासनिक कार्यक्रमका साथसाथै विद्यार्थीको ज्ञान, सीप र गुणस्तर वृद्धि हुने खालका नयाँ कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । समारोहमा उनले क्याम्पसले प्रकाशन गरेको वार्षिक प्रतिवेदन २०७७÷०७८ समेत विमोचन गरिन् ।
आर्थिक प्रशासन प्रमुख पुष्पराज पौड्यालले क्याम्पसको उन्नति र समृद्धिका लागि गुणस्तर कायम गर्न क्याम्पसमा बिभिन्न भौतिक पूर्वाधार बन्दै गरेको उल्लेख गरे । कार्यक्रममा प्रशासनका कर्मचारी माधवप्रसाद सुवेदी, सहप्राध्यापक डा कल्पना पौडेल र प्रशिक्षक निलम महर्जनले बोलेका थिए ।
क्याम्पसले यस वर्ष उत्कृष्ट कर्मचारी र शिक्षकको तर्फबाट कार्यालय सहयोगी रामबहादुर श्रेष्ठ र प्रशिक्षक निलम महर्जनलाई नगद पुरस्कार तथा कदरपत्रसहित सम्मान गरेको छ ।
वार्षिकोत्सवमा क्याम्पसका बिभिन्न तहका उत्कृष्ट विद्यार्थी र खेलकुदका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । क्याम्पसले ३९ औं वर्ष पूरा गरेको अवसरमा सप्ताहव्यापी खेलकुद तथा सरसफाइ कार्यक्रमसमेत भएका छन् ।
विद्यार्थीले कार्यक्रममा नेपाली संस्कृति झल्काउने बिभिन्न गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए ।






