अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएपछि केन्द्रमा सत्ता गठबन्धन ४ दलीय बनेको छ । सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरिसकेको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्तिमार्फत गरेको यस्तो घोषणा गरेपछि केन्द्र सरकारमा केही बदलाब आउने छैन तर गण्डकीमा तरंग आइसकेको छ । जनमोर्चाले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने छ । नयाँ सरकार निर्माणको बाटोसमेत सहज देखिँदैन ।
अझैसम्म राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
अध्यक्ष केसीले पाँच दलीय गठबन्धनले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध काम गरेपछि पार्टीले यस्तो निर्णय गरेको बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने पार्टीको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।
फागुन २३ गतेसम्म सरकारको समर्थनबारे निर्णय हुने बताइएको छ । गण्डकीमा २ सांसद रहेको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ । गण्डकीमा अहिले जनमोर्चाका एक सांसद पदमुक्त भएपछि ५९ सदस्यमात्र छन् ।




