कथा: आमाको वरिपरि

आजको अनलाइन पत्रिका, ‘बाह्रखरी’ मा मेरो कथा छापिएको थियो । ‘बरखी’ शीर्षकको कथा ।बहिनी सीताले भनी, ‘आजकल त हजुरका कथा खूब छापिन थालेका छन् । आज पनि छापिएको रहेछ ।’

म, आमा र ऊभित्र बसिरहेका थियौ । आमा खाटमा लुगा ओढेर बस्नुभएको थियो । म र सीता सोफामा थियौं। मैले भने, ‘यो कथा राम्रो छ, पढेर आमालाई सुनान ।’
‘पर्दैन सुन्दिनँ, आफ्ना कथा कसले सुन्दियोस्,’ आमा त्यत्तिकै टक्टकिएर भन्नुभयो ।

‘आमाको पनि एउटा कथा लेख्नोस् न । अरुका भन्दा त आमाका कथा पढ्ने खाले हुन्छन् होला क्यारे नि । आमाले आजसम्म भागेका दुःख, कष्टको फिल्म नै बनाए पनि खूब चल्थ्यो होला है आमा ?,’ सीताले आमातिर फर्कदै भनी ।
अरु बेला जसरी मैले मेरो लेखनको खिसीट्युरीको रुपमा बुझिनँ । बहिनीकै भावसापेक्ष प्रतिउत्तर दिएँ, ‘समय आएपछि बुवाकै झै पुस्तक लेखौला नि । आमाको कुरा कहाँ एउटा दुइटा कथामा मात्र समेट्न सकिन्छ र ?’

कोठामा एकक्षणसम्म शून्यता छायो । त्यो शून्यतालाई नियाल्दै भनँे, ‘कति वर्ष हुनुभयो आमा तपाई ?’
‘आठ साले हुँ क्यारे । कति वर्ष भए हिसाब गरोओ न । ’
‘सत्तरी पुग्नु भएछ ।’
आमाको उमेर सुन्दा बुढेउली छाएको अनुभूति हुनु पर्दथ्यो । तर मलाई त्यतिमै सिमित हुन मन लागेन । एउटा निरपेक्ष भावना जागृत भयो । त्यही भावनाले आमाको मुहारमा हेरिरहन प्रेरित गरायो । चाउरीले अनावश्यक तवरले मुहार खुम्च्याएको,रक्तिम नसाहरु लोप भएका, कपाल काँस जसरी फुलेको । हात खुट्टाका मासंपिण्ड पातलिँदै गएका । मनदेखि मुहारसम्म गुजाराको खुसी मौजुदा रहे जस्तो । सन्तानका लागि बाँचे जस्तो धुमिल जीवनचर्या । मैले धेरै बेर हेर्न सकिनँ । तर पनि सोचें, अझै कति कामप्रति मोह छ उहाँको । अझै तरकारी फलाएर बेच्नु हुन्छ ।

लाग्छ, ७० वर्षको उमेर लर्तरो होइन । एउटा सिंगो जुग हो । एउटा सग्लो जीवन हो । आजका मितिसम्म आइञ्जेल आमाका पाइला नपरेका गाँउको अछुतो माटो छैन होला । आमाको पसिनाले नसिञ्चेका कुनै वारी, टारी र खेत छैन होला । वन पाखाका प्रत्येक बोट, झाडी, ढुंगा र पानी पधेरासँग आमाको परिचय छ । मितरी साइनो छ ।

सायद मैले भन्दा आमाको कथा तिनलाई बेसी थाहा छ । किनकी आमाको माइती पनि यसै गाउँमा हुनाले आमाको अधिकांश समय यहीको माटोमा उठबस भएको छ । आमाका दुःख, पीडा र वेदनाका कथालाई यहीको हावापानीले बुझेकोछ । मेरी आमालाई यहीको ढुंगा माटोले जीवनसँग सम्झौता गर्दै अगाडि पढ्न सिकाएको हो । म त पछि मात्र जन्मेँ।

म बुझ्ने भएपछि आमाका मुखबाट सुनेका अर्थात् आमाले भागेका दिन दन्त्य कथा लाग्ने गर्थे । अझै लाग्छन् । आमा बिहान तीन बजे उठ्नु हुन्थ्यो रे भालेको पहिलो डाँकसँगै । ४ पाथी कोदो जाँतोमा पिध्दा, घण्टौ लाग्ने पँधेराबाट २ खेप पानी ल्याउँदा, दैलो पोतो र गोठको स्याहार गर्दा बल्ल झिसमिसे हुन्थ्यो अरे ।

बेलुका अबेला सुत्ने, ढिकी, जाँतो गरेर । बिहान सबेरै उठ्ने । केवल काम, केवल काम र केवल काम । आराम भन्ने त प्रायः शून्य । उहाँ भन्नुहुन्छ, ‘असिला जमाना त हाम्ले भाग्यौ । अहिले के दुःख छ र ? सबै काममा पैसा अगाडि सारिदिए भयो । अहिलेका जमाना त पैसाका ध्वाँसमा चलेका जमाना हुन । सुखी जमाना हुन । हाम्रो जस्तो काममा दलनमलन गर्नुपर्ने भए अहिलेका बुहारी कहीँ बस्थे होलान् ? कही टिक्थे होलान् । घामले एउटा पाटो तताएपछि बल्लतल्ल उठ्छन् । सुचिनिची, भगवानलाई धूप बत्ती नचढाइकन खान्छन् । अहिलेका हामी जस्ता पनि सासुू नै हौ । हाम्ले भागेको पनि सासू नै हुन् । क्या दुख्याहा दिन बिताइयो १ मेसिनको चोला भोगियो । ती दिन सम्झदा पनि अहिले त कहाली लाग्छ । हुन त अहिले पनि हात बाधेर खाइएको छैन । त्यसरी खान पनि मन लाग्दैन । खाएको मानोले पनि सराप्छ जस्तो लाग्छ ।’

यसैगरी आमा दिन, उमेरमा खूब दुःख पाएको कुरा गर्नुहुन्छ । हामी पाँच जना छोराछोरी, बुवा राजनीति कार्यकर्ता । निश्चित आम्दानी भन्ने थिएन । ठूलो घरको ठूलो बालीनाली । सबै खेताला, बाउसे, हली, दमेरा, अर्मपर्म चलाउने चल्ती चलन । मैले थाहा पाउँदा पनि आमा कहिल्यै घर बस्नु हँुदैनथ्यो । प्रत्येक दिन खेतालो । हामी आमाको मेलाको खाजा कुर्दथ्यौं । कहिलेकाँही बिहानको ढिँडो अगेनाको डिलमा छोपेर राखिदिनु हुन्थ्यो । भाइबहिनी बढेपछि त्यो पनि अपुग र अभाव भयो ।

अहिले जस्तो बेसायर खाने, पैसाको भरमा चल्ने समय थिएन । अन्न किनेर खाँदा इज्जत जान्छ भन्ने ठान्थे । कति स्वाभिमानी र पौरखी दिन थिए । तर शरीरले भने लाखाधुनी दुःख पाउथ्यो । जसै हाम्री आमाले पाउनु भएको थियो । जसै हाम्री आमा दुःखकी प्रतिनिधि पात्र हुनुहुन्थ्यो ।

उहासँग दुःख र अभावका अनगिन्ती कथा छन् । बिहान घाँस काट्न जाँदा भिजेको गुन्यु मेलामा लगाएर जानुपर्ने बाध्यता आज पनि सुनाउनु हुन्छ किनभने फेरफार गुन्यु नहुने । अनि कहिलेकाँही बजार जाँदा गन्यु, पछ्यौरा र चप्पल छिमेकीसँग मागेका कुरा । भोज भतेर खान पाउँदा खुसी लाग्ने कुरा । प्रायः दसैंमा मात्र मासु खान पाउने कुरा । आज नमीठो पारामा भन्नु हुन्छ । खेताला गएरहाम्लाई कापी, किताब, कलम र स्कुल ड्रेस् किनिदिएका कुरा मन दुखाएर गर्नुहुन्छ । खाली पेट पटुका कसेर वनपाखा गर्नु परेका त्यस्ता घटनाभन्दा आँखा पिलपिलाउनु हुन्छ । अझै त्यस्ता कति घटना र उपघटना आमासित ताजा छन् । जसलाई दुःख, पीडा, वेदना, अभाव र सास्ती शासन ज्वलन्त उदाहरण मान्न सकिन्छ ।

वास्तवमा जीवनमा आमाले आफ्नालागि भन्दा हाम्रा लागि पसिना बगाउनु भयो । धेरै गोता, हण्डर र ठक्कर खानु भयो । मैले पनि हुर्केपछि आमाको सपना पूरा गर्न सकिनँ । अथवा भनौं घरायसी समस्याको मुखमा बुझो लाउन सकिनँ । बुवा त राजनीति कार्यकर्ता भइहाल्नु भयो । आफ्नो आस्था र निष्ठामा चल्ने, राजनीतिलाई समाजसेवाको माध्यम ठान्ने, बरु आफ्नै गुमाउने तर कतैबाट औंला बङ्याएर दुई पैसा तलमाथि नगर्ने कार्यकर्ता ।

उसो त बुवा बितिसक्नु भयो । बुवाको बारेमा अन्टसन्ट असन्तुष्टि जाहेर गर्नु, त्यति मनासिव नहोला । फेरि बुवाले समाज र राष्ट्रलाई बेइमान गरेर बेइमानीको कमाइ घर भित्र्याउनु भएन र घरको अवस्था दिन प्रतिदिन दुब्लाउँदै दुब्याउँदै गएको थियो । जसका कारण हामीले थुप्रै अचल सम्पत्ति गुमाउनु प¥यो भन्ने होइन ।

यत्ति हो, बुबा राजनीतिमा नलागेको भए, अन्य कुनै पेशा या क्षेत्रमा लागेको भए आमालाई सजिलो हुन्थ्यो, आज तीता गुनासा गर्ने ठाउँ हुन्थेन भन्ने होला भन्ने हो । त्यो पनि डेटस्पायर औषधी जस्ता सन्दर्भ भए । बितेका कुरा के गर्नु, फुत्केको मान्छे किन ठूलो ठान्नु ? जे होस् आमाले जेनतेन घरलाई घरजस्तो बनाउनु भयो । हामीलाई कुखुराको पोथीको पखेटाले चल्लालाई सरंक्षण दिए जसरी पालटाल गर्नु भयो । अझ भनांै, मलाई सचेत नागरिक बनाउनु
भयो । धन्न मान्नुपर्छ आमाको वलिदान, योगदान अनि मातृत्व भावलाई ।

हामीलाई कसरी पढाउन सकिन्छ ? कसरी हुर्काउन सकिन्छ ? कसरी अरुका छोराछोरीसरह पालताल गर्न सकिन्छ भनेर चिन्तित आमाले तरकारी खेतीगर्न थाल्नुभयो । त्यसपछि हाम्रो परिवारमा अलि सहजता छायो । भन्नाले व्यवहार होलो भयो । जसमा आमाकै बहीभूमिका थियो, र छ । ‘अझ केही वर्ष तरकारी लाउन पाए नातिहरुको विहेवारी अम्काउने थिए,’ आमाको जाँगर बीसको उन्नयाइस भएको छैन ।

अब त आमा बूढी हुनु भयो । कति नाम्ला फटाल्नु भयो । कति बाउसाका धार भुत्ते भए । कति बञ्चरा खिइएर गए । कति डोका फाटे । कति स्याखु फाटे । कति हिउँद र वर्षा कटे । ती हिउँद र वर्षाले आमाको पैताला धर्ती जसरी फटाले । फेरि धर्ती जसरी जोडिए । उहाँको जेठो छोरोको रुपमा जन्मिएको मै पनि ४६ वर्षको भएँ ।

आमालाई गौर गर्छु । उहाँको आँखा मतर्फ पुलुक्क फर्कन्छन् । आमाले मनमनै भनेझैं लाग्छ, ‘यसले आज किन यसरी हेरेको छ ।’ म भने एकनासले सोचिरहन्छु, ‘आमा पोहोर साल भन्दा अलि बढी खस्कनु भएको छ । जाँगर र शक्ति पनि क्षीण हुँदै गएको छ । अझ भनौं बुवा बितेपछि आमाको सह नै गए जस्तो भएको छ । जीवनमा लोग्नेले कति अर्थ राख्छ । प्राकृतिक नाता भएपनि जन्मजन्मान्तरको जस्तो । विश्वास र भरोसाको । माया र समर्पणको । भावना र मुटुको । जसका अभावमा मान्छे अपूर्ण महसुस गर्छ ।

एक रतिसम्म पनि अरु नाताले भरथेग गर्न सक्दैन, श्रीमान् र श्रीमतीको नातालाई ।
आमा भन्नुहुन्छ, ‘जुन भन्ने आफ्नो मान्छे नै नभएपछि जीवनको स्वाद खल्लो लाग्दो
रहेछ । मीठो खान र राम्रो लाउन पनि चाख हुँदो रहेनछ । जोरीपारीले पनि हेप्दा रहेछन् । अलि भित्तामै पु¥याएर बोल्दा रहेछन् । हुन त म मरेर उहाँ बाचेको भए उहाँले झन गोता पाउनुहुन्थ्यो । दैवको लीला हाम्ले भनेर हुँदो रहेनछ । जे परेपनि सहनुपर्दाे रहेछ ।

आजकल उहाँको कुरा मर्मस्पर्शी भन्दा बढी मन बिथोलिने खाले हुन्छन् । मैले र बहिनीले दिएको माया पनि उहाँलाई निकासोजस्तो लाग्दो रहेछ क्यारे । या त उहाँमा असन्तुष्टि पक्षले कब्जा गरेको छ । हामीसँग मात्र होइन, स्वयः आफूसँग नै उहाँ खुसी हुनु हुन्न । सायद साबिकको जीवनसँग उहाँका थुप्रै गुनासा छन् । सायद कतै न कतै उहाँ बुवाको मृत्युसँग प्रभावित र प्रताडित हुनुहुन्छ । यद्यपि बुवाको सम्झनाबाट त हामी अलग्याउन सक्दैनौं ।

तर आमालाई दिने भौतिक सुख, शरीरको हेरचाह र एउटा संस्कार युक्त सन्तानले गर्ने जति सेवा हर हमेसा गर्न अर्थात हाम्रै कारणबाट उहाँले चित्त दुखाउनुपर्ने स्थिति भावनात्मक रुपमा सिर्जना हुन नदिने नियतितर्फ हामी सचेत छौं । उहाले एक पटक भन्नु भएको थियो; ‘मैले कति गास काटेर र सासको टेको लाएर पालेका छोराछोरी हुन् । कसरी हेला गर्लान् तनि ।’त्यस्तो अवस्था कदापि आउने छैन ।

आमाले जति गर्नु भयो हाम्रा लागि गर्नुभयो । अब आमाको लागि केहि गर्ने पालो हाम्रो हो भन्ने मान्यता मसँग छ, हुन पनि पर्छ ।