अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारी सम्मानित भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले आइतबार आयोजना गरेको समारोहमा साहित्यकार सरुभक्त, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले डा. अधिकारीलाई सम्मान गरे ।
पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ । सहप्राध्यापक डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् । उनी जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल विद्या भूषण ‘क’ (२०७०), दीर्घ सेवा पदक सम्मान (२०७५), बलराम वाङ्मय प्रतिभा पुरस्कार चितवन (२०७७) आदिबाट सम्मानित भइसकेका छन् ।
कार्यक्रममा साहित्यकार सरुभक्तले लोककविलाई निष्काम कर्म र मानवीय धर्मका प्रतिमूर्तिको रुपमा चित्रण गरे । लोककविले आजीविकाको क्रममा भोगेका भोगाइलाई सिर्जनामा उतारेको बताए । उनले भने, ‘उहाँका लागि लेख्नु बाच्नुको यथार्थ हो । उहाँका गीतहरु कविता हुन्, कविताहरु नै गीत हुन् ।’ उनले ०३४ सालतिर बगरबाट हिँडेरै पेन्सन क्याम्प, मियाँपाटनसम्म पुगेर लोककविलाई कार्यक्रममा आमन्त्रण गर्ने गरेको स्मरण गरे ।
पुरस्कृत व्यक्तित्व डा. अधिकारीले सम्मानले आफूले साहित्य र समालोचना दुवै क्षेत्रमा थप योगदान गर्ने ऊर्जा भरिएको बताए । उनले समय चेत भएका लोककविका सिर्जनाले आफूलाई आकर्षित गरेको सुनाए ।
गण्डकी प्रज्ञ प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले लोककवि सबैको लोकप्रिय भएको उल्लेख गरे । उनले धार्मिक सहिष्णुता र सरलताभित्र गहन जीवन दर्शन भेटिने लोकवि जस्ता सर्जककै कारण नेपाली साहित्या यो स्थितिमा उभिएको उल्लेख गरे । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकालले लोककविका गीत, कविता जनस्तरसम्म पु¥याउन विभिन्न गतिविधि भइरहेको बताए । उनले अली मियाँका केही गीतसमेत सुनाए ।
कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक प्राडा रविलाल अधिकारी, नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल, अनेसासा गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य परशुराम कोइराला, सकिना खातुन लगायतले बोलेका थिए ।
प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारी संयोजक र प्रतिष्ठानका सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार यसअघि लोकगायिका हरिदेवी कोइराला, जनकविकेशरी धर्मराज थापा, लोकगायकहरू भेडिखर्के साइँला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, प्रेमराजा महत, ठाकुर सिग्देल, संस्कृतिविद्हरू मोतिलाल पराजुली र चूडामणि बन्धु, चेतन कार्की, आना मेरी स्टर, डा जगमान गुरुङ लगायत सम्मानित भइसकेका छन् ।
अली मियाँकै नाममा स्थापित अली मियाँ लोकवाङ्मय पुरस्कारद्वारा पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली, ऋतु लामा, भीष्म बास्तोला, युवराज भुसाल र अम्बिका भण्डारी सम्मानित भइसकेका छन् ।






