राजन बने सिनियर भेट्रान्स च्याम्पियन

राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता २०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधि जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपर टाइमा १०–५ ले पराजित गर्दै पौडेलले उपाधि जितेका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए । फाइनल खेलमा गोपी÷धरमको जोडी नवीन श्रेष्ठ र राजु गुरुङको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगिताको नवप्रवेशितर्फको उपाधि भीष्मराज पौडेलले जित्दा राजेश गुरुङले दोस्रो स्थानमा चित्त बुझाए । खुला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोस्रो हुनेले नगद ७ हजार ५ सयसहित ट्रफी पुरस्कार प्राप्त गरे । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गरे भने नवप्रवेशीतर्फका विजेता र उपविजेताले ट्रफी पाए ।

विजयी खेलाडीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, पु्रस्कारका प्रायोजक विकास गुरुङ, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले नगदसहित पुरस्कार वितरण गरे । बानियाँले कास्कीमा टेनिस खेलले ठूलै सफलता हाँसिल गरिसकेकोमा खुसी व्यक्त गरे । उनले भएको प्रतियोगितामा पुरस्कार राशि स्वरुप नगद २० हजार तथा बन्न लागेको टेनिस कोर्ट निर्माणार्थ २५ हजार नगद सहयोग गर्ने घोषणा गरे ।

प्रतियोगिताको मुख्य प्रायोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा आयोजना हुने टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले यहाँ खेल पर्यटनको विकासमा ठूलो टेवा पु¥याएको औंल्याए । रेवानले आगामी वर्षमा टेनिसको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । आयोजक संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव नवीन श्रेष्ठले सञ्चालन गरेका थिए ।