एमसिसीमा झलनाथसहित एसका पाँच नेताको असहमति

एकीकृत समाजवादीका पाँच नेताले संसदबाट एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा असहमति जनाएका छन् । सम्मानित नेता झलनाथ खनालसहित पाँच स्थायी कमिटी सदस्यले लिखित असहमति जनाएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन र आफ्नो दलको अस्तित्वको रक्षार्थ एमसीसीको पक्षमा उभिनुपर्ने परिस्थिति बनेको व्याख्या गरेका थिए । एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्न सहमति जुटेको ब्रिफिङ नेतालाई गरेका थिए ।

त्यसमा नेता खनालसहित उपमहासचिव जगन्नाथ खतिवडा, स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, केशवलाल श्रेष्ठ र बलराम बाँस्कोटाले असहमति जनाएका हुन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी निर्णय सुनाउन पनि इन्कार गरेका थिए ।

एकीकृत समाजवादीका प्रवक्ता रहेका खतिवडाले आफू असहमत भएको विषयको निर्णय नसुनाउने अडान लिएका कारण गंगालाल तुलाधरले पार्टी निर्णय सुनाएका थिए । खतिवडा सुरुदेखि नै एमसीसीको पक्षमा थिएनन् ।

अघिल्लो साता पार्टीले एमसीसी टेबल गर्न दिने निर्णय गर्दा पनि खतिवडाले असहमति जनाएका थिए । उक्त निर्णयलाई खतिवडाले आफ्नो व्याख्या अनुसार विज्ञप्ति निकालिदिएपछि महासचिव बेदुराम भुसालले अर्को विज्ञप्ति निकाल्नु परेको थियो ।