गजल सन्ध्या पोखराको १७ औं साधारणसभा तथा १२ औं अधिवेशनले वसन्त विनोदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुरज उपाध्याय, सचिव त्रुपक, कोषाध्यक्ष महेश्वर बस्ताकोटी र सहसचिव मैयाँ सुवेदी चुनिएका छन् ।
सदस्यमा माधवप्रसाद खतिवडा, सृजना ढकाल, विकास गौतम र विष्णुप्रसाद सुवेदी छन् । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ स्थापित संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजलवाचन आयोजना गर्दै आएको छ । संस्थाले गजलबारे अन्तक्र्रिया, छलफलसहित समसायीक संकलन ‘गजल उत्सव’ पनि प्रकाशन गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष विनोदले नेपाली गजलको उत्थानका लागि आवश्यक कार्यक्रम तय गर्ने योजना सुनाए ।
संस्थापक अध्यक्ष दिलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र उदिपराज ढुंगाना सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्वका लागि सहजीकरण गरेको थियो ।
यसअघि साधारणसभामा सचिव त्रुपक र कोषाध्यक्ष महेश्वर बस्ताकोटीले पेस गरेका प्रतिवेदन पारित पारित भएका थिए ।
कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले अहिले गजल फरक विधाको रुपमा स्थापित भइसकेको बताए । उनले धेरै आशालाग्दा प्रतिभाको समर्पणले यो सम्भव भएको बताए ।
कार्यक्रममा गजलकार गोपाल खनालको पहिलो गजल सङ्ग्रह ‘सम्झनाका लहरहरू’ सार्वजनिक गरिएको छ । नुवाकोटका स्थायी बासिन्दा खनाल अहिले पोखरामा साहित्य, पत्रकारिता र शिक्षणमा सम्वद्ध छन् । उनको कृतिमा एक सय एक गजल छन् ।
सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।





