औषधी व्यवसायी संघ गण्डकीको साधारणसभामा बञ्जारा सम्मानित

औषधी व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम वार्षिकोत्सव तथा साधारणसभा मंगलबार भएको छ । सभामा नेपाल औषधी व्यवसायी संघ केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधी व्यवसायी संघलाई संघीय मर्म अनुसार रुपान्तरण गर्न धेरै मेहनत भएको बताए । उनले ५४ जिल्लामा संघको जिल्ला शाखा रहेको र वाँकी जिल्लामा पनि शाखा विस्तार गरिने उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले संघको नीति, नियम अनुसार मर्यादित व्यवसायमा जोड दिन आग्रह गरे । देश भरका २१ हजार व्यवसायीको हितमा संघ केन्द्रीत रहेको उनको भनाइ छ । वार्षिक ५५ अर्बको कारोबार गरी राष्ट्रिय पुँजी चलायमान गर्ने र राज्यलाई कर राजस्वमा टेवा दिने औषधी व्यवसायीलाई राज्यले अपेक्षाकृत सम्बोधन नगरेको उनको गुनासो छ ।

सभामा औषधी व्यवसाय र स्वास्थ्य क्षेत्रमा खोजी समाचार र आम उपभोक्ताको हितमा योगदान गरेकोमा सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जारालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

संस्थाले प्रकाशन गरेको स्मारिक गण्डकी औषधी दर्पणसमेत मंगलबारै सार्वजनिक भएको छ । भौतिक रुपमा भएको कार्यक्रमलाई भौतिक रुपमा उपस्थित हुन नसक्ने विभिन्न जिल्ला र प्रदेशका सहभागीलाई भर्चुअलमा जोडेर कार्यक्रम गरिएको नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समिति अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसी, प्रदेश १ का अध्यक्ष कुमार खतिवडा, वागमती अध्यक्ष धु्रवनारायण श्रेष्ठ, लुम्बिनी अध्यक्ष शिव ज्ञवाली, केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रीय सचिव यमनाथ पौडेल, सम्मानित पत्रकार बञ्जारा, स्याङ्जा जिल्ला अध्यक्ष उर्मिला बस्नेत, रामबबहादुर केसी, पूर्व उपाध्यक्ष सुरेशराज भण्डारी र प्रदेश महासचिव केशरी तिवारीले बोलेका थिए ।