असमका प्रख्यात आख्यानकार, नाट्यकार शेरमान थापाको ८३ औं जन्मदिन समको शोणितपुर जिल्लाको बडभोगियामा मनाइएको छ ।
सो अवसरमा तीन पुस्तक लोकार्पित भए। असमका समकालका चर्चित कवि, कथाकार, समालोचक तथा अनुवादक रुद्र बरालको कागजको नाउ उनकै सहोदर तथा बडझार माध्यमिक विद्यालयका अवकाश प्राप्त प्रधान शिक्षक पुन्यप्रसाद उपाध्यायले सार्वजनिक गरे । विमोचनको क्रममा उनले तेस्रो आँखोको लोकप्रियताको प्रसङ्ग झिक्तै त्योभन्दा अझ खारिएको अनुभव लिएर बरालले लेखेका कविता अझ चर्चामा आउने छ्न् आशा व्यक्त गरे ।
कवि, कथाकार, निबन्धकार खड्गबहादुर कौशिकको काव्य सिर्जना घामको छाता कवि एवं समालोचक मोहन सुवेदीले सार्वजनिक गरे । सुवेदीले कृति सरल भाषाशैलीमा लेखिएको र अति सम्प्रेषणीय भएको विचार राखे ।
समारोहमा असमिया भाषामा लेखिएको अल एबाउट फेल्टुु पनि सोही समारोहमा सार्वजनिक भयो । विश्वनाथ चारालीका अर्जुन निरोला यसका कृतिकार हुन् । हजुरबाको पेन्सन कृतिका सर्जक निरोला असमिया र नेपाली दुवै भाषाका कलमकार हुन् र उनी समकालीन असमेली नेपाली साहित्यका सर्वाधिक समादृत व्यङ्ग्यकार मानिन्छ्न्। निरोलाको हास्य व्यङ्ग्य ुअल एबाउट फेल्टुु विमोचन गर्दै बडसोला उच्च माध्यमिक विद्यालयका पूर्व अध्यक्ष शुकराम वर्मणले यो एक उत्कृष्ट व्यङ्ग्यकृति भएको दाबी गरे ।
साहित्यकार शेरमान थापाको प्रतिकृतिमा अनेसासका सभापति दुर्गा खतिवडाले माल्यार्पण गरेका थिए । अनेसास शोणितपुर जिल्ला समिति सभापति डिल्लीराम खनालले शेरमान थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे ।
कार्यक्रममा असमका नयाँ पिँढीकी चर्चित कवि नैना अधिकारी, असम नेपाली साहित्य सभाका सचिव दीपक गजुरेल, असम नेपाली साहित्य सभाका केन्द्रीय सदस्य हेमन्त भट्टराई, प्राध्यापक कृष्णप्रसाद भट्टराई, अनेसास मरिगाउँ जिल्ला समितिकी सभापति अनामिका उपाध्यायले कवितावाचन गरेका थिए ।
साहित्य सभाका केन्द्रीय सभापति दुर्गा खतिवडा र केन्द्रीय सचिव नवप्रभा अधिकारीले वक्तव्य राखेका थिए। अनेसास सभापति दुर्गा खतिवडाके तिनैजना सर्जकको साहित्यिक योगदानबारे विस्तृत टिप्पणी गरे।
कार्यक्रममा हाम्रो प्रजाशक्ति नेपाली दैनिकका सम्पादक अञ्जन उपाध्याय, साहित्य अकादमी युवा पुरस्कार प्रापक अञ्जन बाँसकोटा, असम नेपाली साहित्य सभाका सचिव ढाकाराम काफ्ले, चारदुवार माध्यमिक विध्यालयका पूर्व अध्यक्ष दीननाथ निरोला, व्यङ्ग्यकार महिम आचार्य, बडसोला माध्यमिक विद्यालयका पूर्व प्रधान शिक्षक रामबहादुर क्षेत्री, बापुजी माध्यमिक विद्यालयका पूर्व प्रधान शिक्षक अमर क्षेत्री आग्सु केन्द्रीय समितिका सदस्य पुष्प पौडेल, पूर्वायण प्रकाशनका मालिक डास् अमृतकुमार उपाध्याय लगायत उपस्थित थिए ।
कार्यक्रम असम नेपाली साहित्य सभा केन्द्रीय समितिका सदस्य ज्योति हुमागाईंले सञ्चालन गरेकी थिइन् ।





