डा. खगराज अनुभूति संग्रह बजारमा

शिखा बुक्सले प्रकाशन गरेको लेखक डा. खगराज बरालको अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरू’ फागुन पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा ७ पुस्तक प्रकाशित छन् ।

बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै १ दर्जन कृति नेपाली पाठकसामु पस्किसकेका छन् । वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यसअघि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) लोकप्रिय रहे ।

गत वर्ष बराल ‘स्यानी’ उपन्यास लिएर आएका थिए । ‘मालामा नउनिएका फूलहरू’मा २० भिन्न भिन्न अनुभूति छन् । यस कृतिमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य। घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वेदशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति संग्रहमा समावेश गरिएको छ ।

सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्वका साथ उठान गरेका छन् । ३ सय २४ पृष्ठको यो पुस्तकको मूल्य ४ सय ७५ रुपैयाँ छ ।