फागुन ७ अर्थात् प्रजातन्त्र दिवसका दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले पोखरामा आमसभा गर्ने भएको छ । पोखराको चिप्लेढुंगामा आमसभा गर्ने तयारी भएको राप्रपा कास्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आमसभाअघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले जानकारी दिए । पृथ्वीचोकबाट निस्केको ¥याली सभागृहचोक, न्युरोड हुँदै चिप्लेढुंगा मानवअधिकार चोकमा आएर आमसभामा परिणत हुनेछ । पोखरामा हुने आमसभालाई राप्रपाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता तथा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय विक्रम पाण्डे र हेमजंग गुरुङ, अभियन्ता पुष्पराज पुरुष, ज्ञानेन्द्र शाही, अभिषेक जोशी लगायतले सम्बोधन गर्ने छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश संयोजक पञ्चराम गुरुङले राप्रपाका एजेन्डाहरु जनतालाई बुझाउन आमसभा गर्न लागिएको बताए । एमसिसी परियोजना घातक भएकाले यथास्थितिमा पास गर्न नहुने उनको भनाइ छ ।
राप्रपा नेता जयलाल पुनले राप्रपा आगामी चुनावमा आफ्नै चुनावचिह्न लिएर एक्लै मैदानमा जाने बताए । निर्वाचन आयोगले दबाबमा चुनावचिह्न नदिने षड्यन्त्र गरेको उल्लेख गर्दै उनले आन्दोलनकै बलबाट चुनावचिह्न प्राप्त गर्ने जनाए ।
नेता पुनले सरकारको रवैयाका कारण प्रजातन्त्र दिवसकै दिन आन्दोलन गर्नुपर्ने वाध्यता आएको सुनाए । उनले हालै नयाँ पार्टी बनाएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले दलको सिद्धान्त बिर्सिएर अर्कै बाटोमा गएको उल्लेख गरे । उनले भने, ‘उहाँका बारेमा हामीलाई धेरै बोल्न नलाउनुस् । १५ वर्ष उहाँलाई हामीले कृष्ण बनायौं, उहाँ अहिले कंस बन्न जानुभयो ।’






