आफूलाई यूएनको इन्जिनियर भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट ठगी गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् ।
१८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा डोटी तोलेनी बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औँठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ ।






