डा सञ्जय कोइराला
आगामी वैशाख ३० गते सबै स्थानीय तहको निर्वाचन एकै पटक गर्ने भनेर नेपाल सरकारले घोषणा गरिसकेको छ । देशमा अब निर्वाचनको माहोल बन्न थालिसकेको छ । विभिन्न राजनीतिक दल अब यो चुनावको नतिजा कसरी आफ्नो पोल्टामा पार्ने भनी शकुनी दृष्टिले एक अर्कालाई हेर्न थालिसकेका छन् । कोसँग, कहाँ, कसरी समीकरण गरेर आफ्नो जित सुनिश्चित हुन्छ भन्ने ध्येयका साथ युद्धभूमिमा आ–आफ्नो घोषणापत्र मुखी अस्त्र लिएर उत्रन तयारीमा लागिसकेका छन् दलहरु ।
सधैझैँ यसपालि पनि निर्वाचन हुनेछ, जनतालाइ फेरि पनि केही सपना बाँडिने छन् । दक्षिणबाट गठबन्धनको हावाहुरी चलिरहेको छ । सोको बलमा कुनै एक गठबन्धनले नतिजा आफ्नो पक्षमा ल्याउनेछ । केही समय आ–आफ्नो बलबुताले भ्याएसम्म राजनीतिक आवरणमा सत्ताभोग गर्ने छन्, लुछाचुडी गर्ने छन, केही समयपछि कुनै न कुनै बाहानामा गठबन्धन तोड्ने छन् । देशलाई फेरि बन्धक बनाउने छन्, अर्को कुनै गठबन्धन बन्नेछ । निर्धारित समयसम्म आफ्नो रथलाई घिसारी घिसारी अर्को चुनावसम्म पु¥याउने छन् । फेरि चुनाव हुनेछ । यही क्रम चलिरहनेछ । नेताहरु सधै आश्वासनमात्रै दिन्छन् । तैपनि नेपाली जनता सहनशील भई समृद्धिको पर्खाइमा रहिरहने छन् ।
यो एउटा चक्र जस्तै चलिरहने प्रक्रिया भइसकेको छ । देशमा हाल द्यिमान ठूला भनाउदा राजनीतक दलले यो देश र जनतालाई यस्तो मायाजालमा फसाइसकेका छन् कि यो जालबाट उम्कन आम नेपालीलाई असम्भव प्रायः लाग्छ । यो सत्य पनि साबित हुँदै छ । यिनीहरुको लामो इतिहास छ, जसको आधारमा अहिलेसम्म पनि यिनीहरुको नै दबदबा चलिरहेको छ । पुँजीवाद, समाजवाद, साम्यवाद, माओवाद, लेनिनबाद आदि जस्ता अनेकौं वादको सहारा लिएर राज्यसत्ता आफ्नो हातमा लिने र सोको उपयोग मात्र आफ्नो र आफ्नाहरुको फाइदामा लगाउने प्रवृत्ति एउटा नियम नै जस्तो बनिसकेको अवस्था छ । सबै आलोपालो गरी एकै प्रवृतिको खेलमा व्यस्त छन् । यो चक्र टुटाउन कठिन छ, असम्भव हैन ।
राजनीतिक पहुँचको भरमा न्यायालयको कलमसमेत आफैंले चलाउन सक्ने हिम्मत राख्न सक्ने नेता, कार्यकर्ताको शक्ति यो देशमा अपरम्पार छ !
त्यहाँबाट आम जनताले स्वतः पाउनुपर्ने सुविधाका लागि पनि राजनीतिक दलको ढोकासम्म चहार्नुपर्ने बाध्यकारी परिस्थिति निर्माण भइसकेको छ । समाजवाद उन्मुख राज्यमा नै शिक्षालयदेखि अस्पतालसम्म पनि राजनीतिक हस्तक्षेप छ भने अब अरु निकायको के कुरा गर्ने ? राजनीतिक पहुँचको भरमा न्यायालयको कलमसमेत आफैंले चलाउन सक्ने हिम्मत राख्न सक्ने नेता, कार्यकर्ताको शक्ति यो देशमा अपरम्पार छ !
समय बलवान छ । समयको चक्र आफ्नै गतिमा घुमिरहन्छ । समय कुनै पनि शक्तिको अगाडि झुक्न जान्दैन । समय नै सत्य हो र सत्य नै समय हो । हाल विद्यमान राजनीतिको अराजनीतिक आचरणको अध्याय पनि विस्तारै समयको गतिसँगै अवश्य पनि स्खलित हँुदै जानेछ । जनताको नाममा गरिने अराजनीतिक गतिविधि जनताको नजरबाट टाढा छैनन् । बस समयको पर्खाइमा छन, परिवर्तनको आशमा छन् । सबै जनताले बुझ्नु पर्दछ कि कुन चाहिँ वादले कुन चाहिँ वादीलाई न्याय दिएको छ अहिलेसम्म ? परिवर्तनको आशा गरेरमात्र पुग्दैन, आफू पनि परिवर्तनको संवाहक हुनु जरुरी छ । अब आउने चुनावमा जे जस्ता सपना देख्न लगाइन्छ, ती सबै सपना संगालेर सपना देखाउने नेतृत्व वर्गलाई प्रश्न गर्न सक्ने आँट गर्नु पर्छ ।
राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउने हिम्मत गर्नु पर्छ । सधै अरुको पछि लागेर एक छाक मासुभात र पेट्रोलको भरमा चलिरहेको राजनीतिक धरातलभन्दा माथि उठेर आफ्नो र आफ्नो सन्ततिको भविष्यको चाबी लिएर बसेका प्रभुहरुलाई प्रश्न गर्ने र आफ्नोवरिपरि हुने राज्यको विकासका कार्यक्रममा स्वतः स्फूर्त रुपमा नियमनकारी भूमिकामा आफूलाई उभ्याउनु जरुरी छ । राज्यको सम्पति मेरो पनि सम्पति हो, राज्य मेरोमात्र होइन, सबैको साझा हो, राज्यकोषबाट गरिने हरेक खर्चको लेखाजोखा माग्न सक्नुपर्छ । जसले पारदर्शी रुपमा विकासका अवधारणाहरु प्रस्तुत गर्छ, उसलाई आफ्नो नेतृत्व दिने र तत्पश्चात उसलाई उत्तरदायी पनि बनाउन जरुरी छ ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. कोइराला अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्




