आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पुँजी (रु २६ करोड)को शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँडपश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।