हिजोआज डस्टबिनमा खोज्दैछु कविताको पाण्डुलिपि। खोजिरहेछु कविता। सोचिरहेछु कहाँ हरायो।
एकचोटि ठानेँ, भिक्टर ह्युगो भएको भए!
‘ला मिजरेबल’ हराएको भए! फेरि लेख्ने थिएँ जस्ताको त्यस्तै। उनैले लेखेजस्तै।
पाण्डुलिपि हराउनु मात्र कहाँ हो र?
स्मृति पनि हरायो।
बिर्सिएँ कविताका विषयहरू र संरचनाको ढाँचा।
प्रतीक र बिम्बहरू खै कस्ता थिए कस्ता!
के के थियो होला कवितामा? वैश्विक सङ्कट कि देशको आर्तनाद।
सोमालियाको दुर्भिक्ष कि सू
सुडानको भोक?
गाजापट्टी र वेस्टब्याङ्कका नसुकेको घाउ कुन बाँदरले कोट्याइदिन्छ, एउटै धर्मले किन एक पार्न सकेन अशान्त खाडीलाई?
ओपेकले दर घटाउँदा किन बढ्छ यहाँ तेलको भाउ?
कोरोनाको खोप विदेश पुग्दा किन लाइनमा रुन्छ मेरो गाउँ?
यी कुराहरू थिए कि थिएनन् होला।
मेरो कवितामा फुलको कथा थियो कि हुलका आँसु,
आकाश हाँस्तो खित्तिती कि खेत रुन्थ्यो धुरुरु।
कल्पनाको उडान र मनको गहिराइमा अल्मलिन्थ्यो कि प्रेयसीका बाहुपासमा रुमलिन्थ्यो?
कस्तो थियो मेरो कविताको अनुहार – निरोको सारङ्गी जस्तो कि कटुवालका गाइनेको?
कुन धारा र नारा बोकेर हिँड्थ्यो मेरो कविता?
“नारा लाउनु हुँदैन कवितामा” भन्ने नारा आत्मसात गरेको थियो कि थिएन
सबै बिर्सिसकेँ कविताका कुराहरू।
कविता म किन लेख्तेँ? के उद्देश्य र केको हुटहुटीले जन्मिथे कविता?
कविता मेरो पेसा थियो अथवा नशा। कविताको बुइ चढेर म समाजदेखि माथि हुन्थेँ अथवा कविताको काँध हालेर समाजलाई माथि लान्थेँ,
खै के थियो थियो मेरो कविताको आशय।
अनि म धुइणपत्ताल गरिरहेछु कविताको खोजीमा
एक एक डस्टबिन चहारिरहेको छु।
अत्याधुनिक सामग्रीको ठेलमठेल छ घरभित्र।
धेरै पुराना सामानहरू मिल्काइसकेको छु।
“आदर्श पाठ” को पुरानो पुस्तक छोराले मिल्कायो।
नीति शिक्षाको पुस्तक नानीले फ्याँकिदियो।
छोरीलाई मन परेन कुनै इजम। त्यस्तै कुनै झ्वाँकमा सायद कविताको पाण्डुलिपि पनि मिल्काइयो कि उत्तर आधुनिक डस्टबिनमा।
डस्टबिनमा जीवनको रङ खोजिरहेका छन् भविष्यका ताराहरू। डस्टबिनमा छ जैविक विविधताको ठुलो संसार। काग, कुकुर, मानिस सँगै जीवनको विजयगीत गाइरहेछ्न्।
मेरो कविताको पाण्डुलिपि त्यहीँ होला।





