के राम्रो हो के नराम्रो आफूले नै जान्नु पर्छ
चेतनाको डोरी बाटी इन्द्रियलाई बान्नु पर्छ
तल हुने जो कोहीले माथि नै हो समाउने
तल पर्नेहरुलाई माथि उठेकाले तान्नु पर्छ
यति हुन नसकेमा समाज कहाँ हुन्छ राम्रो
जान्ने सानु भए पनि उसलाई गुरु मान्नु पर्छ
बालीनाली काट्ने बेला बीउ किन्ने बानी हाम्रो
बाली फलोस् भन्नेले त बेलैमा बीउ हान्नु पर्छ
यो संसार समुद्र हो घुँगी, शङ्खे, मोती पाइने
के टिप्ने घुँगी हो कि मोती आफैंले छान्नु पर्छ ।





