कविता: राजनीतिको वास्तु

चनाखो (स्मार्ट) एक्साभेटरले
जगको लागि खाल्डो खनिदिए जस्तै
आफैँभित्र पलाएको लोभले
राजनीतिको चारपाटे जग्गामा
अधोपतनको गहिरो खाल्डो खनी दिएपछि
ज्योतिषीको सल्लाह लिएर
ढुङ्गाको कछुवा राखेर घरको जगहाले जस्तै
धर्मलाई अफिम मान्नेहरुले भित्रभित्रै
राजनीतिको वास्तु मिलाउन
इशानकोण पर्ने स्थानमा
आफ्नै नैतिकता गाडेर
सत्ता र शक्तिको जग हालिसकेपछि
घरको दैलोमा अष्टमंगल राखे जस्तै
अनुहार हेरेर पुच्छर हल्लाइरहने
आवश्यक परे जोडजोडले भुक्न सक्ने
वफादार मंगलेहरु, सल्लाहाकार त राख्नु पर्ने नै भयो ।

ज्योतिषीको सल्लाह लिएर
पूजाकोठा बनाएर गणेश र लक्ष्मीका फोटाहरु राखे जस्तै
नैतिक मूल्यलाई आदर्श मान्नेहरुले भित्रभित्रै
राजनीतिको वास्तु मिलाउन
ऊर्जा सञ्चार हुने उत्तर–पश्चिम कुनामा
आफ्नै आदर्श ताछेर
झ्यालको चौकोश राखिसकेपछि
घरमा पाँच वटा कलश राखे जस्तै
अवस्था हेरेर घर खर्च चलाईदिइरहने
आवश्यक परे विट्टैविट्टाले हान्न सक्ने
धन कुबेरका प्रतिनिधिहरु, विचौलिया त राख्नु पर्ने नै भयो ।

व्यर्थै वास्तु दोष बाँकी छ भनेर
प्रानो पण्डितले
हनुमानको झण्डा राख्न कचकच गरे झैं
विचार र सिद्धान्तमै बाँची रहेका पुराना कर्मठ कार्यकर्ताहरु
ऐतिहासिक र गौरवशाली पार्टीको रातो झण्डा
हावाका लहरहरुसंगै फरफराउन नसकेको देखेपछि
घामको पहिलो किरणसँगै चम्किन नसकेको देखेपछि
भित्रभित्रै पिल्सने नै भए
आफैँभित्रको आफ्नै तापले, जलेर खाक त हुने नै भए

समय परिस्थितिले किनारामा बस्न बाध्यहरु
कुनै सुदखोर व्यापारीले
स्वस्ति, शान्तिका लागि पूजा गरेर
मध्यान्हमा उराठ लाग्दोगरी शंख फुके जस्तै
साना ठूला, उपलब्ध कुनै नेताको प्रदक्षिणा गर्दै
औकातले भ्याए जति किर्तन भजन त गाइरहने नै भए

थाहा छैन हामी जनताहरु
नेताका महत्वाकांक्षा र विलासी जीवन
अक्षम नेताहरुको
पदलोलुपता र सुविध ाप्रेमको महायज्ञमा
देशको अर्थतन्त्र हवन भइरहेको देख्दा देख्दै
समाजवादको ढोका खुल्ने
अन्धविश्वासको गहिरो निद्रामा नै हो कि ?
देशले आर्थिक विकासको फड्को मार्ने
भ्रमको बाक्लो जालोभित्र ?

साँच्चै हामीजनताहरु
सर्कसका जोकरका घीनलाग्दा खेल हेर्दै
त्यसैमा रमाइरहेका हौं कि ?
राजनीतिको वास्तु दोषको कारण
नागाहरुको भद्दा उत्सवबाट विरक्तिएर
अघोरीहरुको तन्त्र साधना हेरिरहेछौं ?