८ साहित्यकारलाई सम्मान गर्दै साहित्य संगम

मकवानपुरको बाङ्मयिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ ।

सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना भएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय भएको छ ।

भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ छ । यस्तै, साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाल सम्मानित हुने भएका छन् । उनलाई १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।

सङ्गमले यस वर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गर्ने जनाएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष)ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राखि १५ हजार ५ सय ५५ रुपैयाँ छ ।

हाल अमेरिका निवासी मकवानपुरका बासिन्दा दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । गौतमलाई नगद १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिनेछ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरिने निर्णय भएको छ । जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ छ । हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिने भएको छ ।

जसको राशी ५ हजार छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गर्ने गरिन्छ ।

शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिने भएको छ । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थीबीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ ।

साहित्यसेवी मुक्तगोविन्द वैद्यले यस वर्षबाट स्थापना गरेको मुक्क्ति–तारा साहित्य पुरस्कार समीक्षक घनश्याम घिमिरेलाई प्रदान गरिने भएको छ । जसको राशी १० हजार रुपैयाँ छ ।

संस्थाले निर्णय गरेका सम्मान तथा पुरस्कार कोभिड १९ संक्रमण कम भएपछि विशेष समारोह आयोजना गरी अर्पण गरिने संगम अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।