बागलुङमा कोभिड कहर: ६९ जाँच गर्दा ५२ संक्रमित

पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको स्वाब परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् ।

जिल्लामा हालसम्म पिसिआर र एन्टिजेन गरी कुल २८ हजार ५ सय १ जनामा गरिएको परिक्षणबाट ८ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ हजार ८ सय ५२ जनाले कोरोना संक्रमणलाई जितेका छन् भने ७२ जनाको संक्रमणकै कारण निधन भएको छ ।

जिल्लामा रहेका १ सय ८७ सक्रिय संक्रमितमध्ये बागलुङ नगरपालिकामा १ सय ८ जना, गलकोेट नगरपालिकामा ३४ जना, बरेङ गाउँपालिकामा १९ जना, जैमिनी नगरपालिकामा ४ जना, काठेखोला गाउँपालिकामा २ जना, तमानखोला गाउँपालिकामा २ जना, ताराखोला गाउँपालिकाम ५ जना, बडिगाड गाउँपालिका ४ जना र बाहिरी जिल्लाका ९ जना सक्रिय संक्रमित रहेको स्रोतव्यक्ति घिमिरेले बताए ।

बागलुङका ८५ वडामध्ये ७ वटा वडा बागलुङ नगरपालिका भित्रका वडा नम्बर १, २, ३, ४ र १३, गलकोट नगरपालिका वडा नम्बर ३ र बरेङ गाउँपालिकाको ५ नम्बर वडामा ७ जना भन्दा बढी संक्रमीत रहेकाले उच्च जोखिममा छन् । अन्य ३४ वडा १ वा १ भन्दा बढी संक्रमीत रहेकाले मध्यम जोखिममा छन् र बाँकी ४६ वडाहरुमा संक्रमीतको सङ्ख्या शून्य छ ।

जिल्लाका ८५ वडामध्ये बागलुङ नगरपालिकाको २ नम्बर वडामा सबैभन्दा बढी २२ संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना संक्रमण बढे पनि जोखिम नियन्त्रणतर्फ भने कुनै प्रभावकारी कदम चालिएको देखिँदैन ।