भारतको असमकी कवि नैना अधिकारीको पहिलो कृति घात–प्रतिघातका उद्गारहरू लिएर पाठकमाझ आएकी छन् ।
आइतबार आयोजित एक समारोहमा नैनाको कविता सञ्ययन सार्वजनिक भएको हो । पूर्वायण प्रकाशनले प्रकाशन गरेको बाक्लो जिल्दको यस पुस्तकको मूल्य १ सय ७० रुपियाँ राखिएको छ । कृतिमा ४० कविता छन् ।
असमकी वरिष्ठ साहित्य इतिहारकार डा. गोमा अधिकारीले कृति सार्वजनिक गरिन् । कृतिका विभिन्न पाटाको विश्लेषण गर्दै उनले नैनाले कविता उनी आफूसहित देश चित्रित भएको बताइन् । उनले भनिन्, ‘उनको समय छ, नारी समाजका सुख र दुखको कथा छ । समाजका यिनै कथा, व्यथालाई उनले शब्दको मालामा उनेर आकर्षक शैलीले समाजका अघि पस्किएकी छन् ।’
कवि रुद्र बरालले वर्तमान असमको कविता लेखनमा नारी स्रष्टाको उल्लेखनीय योगदान रहेको जनाए । उनले यो ताँतीमा नैना अधिकारीको नाउँ जोडिएको र उनीबाट असमेली नेपाली साहित्यले निकै आशा गरेको उल्लेख गरे ।
कवि नैनाले कृतिमा आफूले भोगेको समय, जीवन र परिदृश्यलाई उतारेको बताइन् । पाठकको मार्गदर्शन अनुसार भावी साहित्ययात्रालाई परिमार्जन गर्दै जाने उनले प्रण गरिन् ।

सभामा अनेसास मरिगाउँ जिल्ला समितिमा मूलसचिव गंगाराम ढुंगेलले पुस्तक विमोचनसँगै कवि सम्मेलन पनि भएको बताए ।
कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बराल, सचिव नवप्रभा अधिकारी, केन्द्रीय सदस्य शंकर ढुंगेल, ज्योति हुमागाई, लेखक डा. सीताराम अधिकारी, डा. देवेन सापकोटा, अविकेशर शर्मा, पुरुषोत्तम उपाध्याय, मिना पौडेल, नारायण थापा, अमित अधिकारी, जागिरोड महाविद्यालयका रसायन विज्ञानका अध्यापक डा. गोपी अधिकारी, हाम्रो स्वाभिमानका असम प्रान्तका सांस्कृतिक सचिव भानु शर्मालगायत सहभागी थिए ।
कवि सम्मेलनमा अनामिका उपाध्याय, नारायण थापा, डा.देवेन सापकोटा, पुरुषोत्तम उपाध्याय, ज्योति हुमागाईँ, विनोद घिमिरे, र नवप्रभा अधिकारीले कवितावाचन गरेका थिए । मीना पौडेल र अमित अधिकारीले सुनाए भने निर्वाणा अगस्तीले नृत्य प्रस्तुत गरिन् ।
असम नेपाली साहित्य सभाका केन्द्रीय उपसभापति कृष्णलाल शर्माको अध्यक्षतामा र अनेसासको मरिगाउँ जिल्ला समितिको आतिथ्यमा कार्यक्रम भएको हो ।





