नदीलाई मन पर्दैन

- 'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५८

तिम्रा धारिला हातले छोएर
मेरो शरीरमा
गिद्धे नजर लगाई
सिँगारपटार गरेको
मलाई पटक्कै मन पर्दैन ।
मलाई दाउमा राखी
मेरै नाम बेचेर
महानताको ढ्याङ फुकिरहेछौ
मेरो पैतालामा छोएर
मुटुमा हान्ने सुर कसिरहेछौ ।
आफ्नो क्षणिक स्वार्थको लागि
मेरो अस्मिता लुटेर
तिम्रो सपनाका भकारी भर्न
झिलीमिली सहरमा बेसरम नाचिरहेछौ ।
तिमी सक्छौ बरु आऊ मसँग
तिमीलाई मेरो
नृत्य देखाउँछु, कथा सुनाउँछु
मेरा प्रत्येक शरीरको
अंग-अंगको परिचय दिन्छु
मेरो अस्तित्व, विश्वास
र श्रद्धाको अक्षर पढाउँछु।
म जे छु, म जस्तो छु
यसैमा खुसी र सन्तुष्टि छु
मलाई बिथोल्न नआऊ
मलाई चलाउन नआऊ
मलाई जिस्काउन नआऊ
मलाई रिस उठाउन नआऊ।
यति भन्दाभन्दै पनि
तिमी मलाई जिस्काउन आयौ भने
मेरो रिसको एक झिल्कोले
तिम्रो दरबार जलाउन सक्छ
मलाई दायाँबायाँ खेलाउन खोज्यौ भने
म तिमीलाई नै खेलाइदिन सक्छु।
मलाई आफ्नै गतिमा बग्नुछ
मेरो अनन्त यात्रामा जानुछ
मेरो आफ्नै रीत, गीत र संगीत छ
मेरो आफ्नै नियम, कानुन र अनुशासन छ
मेरो नियमलाई मिचेर
तिम्रो नियममा बाँध्न नखोज
त्यसैले
तिमीले मलाई छुँदै नछोऊ
मलाई तिमीले छोएको मन पर्दैन ।


-फेदीखोला, स्याङ्जा

कालीगण्डकी बचाऔँ अभियान – Save Kaligandaki 🌍🙏🏼