टाइगर कपः साबिक उपाधि विजेता गण्डकी बाहिरियो

पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साबिक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहेपछि प्रतियोगिता रोचक बनेको छ ।

बिहीबार पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साबिक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा हेल्प नेपाल स्पोर्ट्स क्लबले समेत विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई सुरक्षित बनाएको छ ।

खेलमा आर्मीले पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिष्पर्धात्मक बनेको चौथो सेटमा आर्मी २६–२४ को जित निकाल्न सफल बन्यो । जितसँगै आर्मीको ३ खेलबाट ६ अंक पुगेको छ । आर्मीसँग पराजित भएपछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीको ३ खेलबाट ३ अंक छ । उक्त खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै ईश्वर थापा उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रालाई जीवित बनाएको छ । जितसँगै हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो । खेलमा टिप टपका विनित कुमार म्यान अफ दि म्याच हुँदै ५ हजार नगद हात पारे भने दीपक थापा उत्कृष्ट डिफेन्डर भएका छन् ।

शुक्रबार हुने खेलबाट नै फाइनल पुग्ने २ टोलीको टुंगो लाग्ने प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री तहलसिंह थापामगरले जनाएका छन् ।

यता, महिला तर्फको १ खेल भने लाइट प्रोटेस्टका कारण अवरुद्ध बनेको छ । न्यु डायमण्ड र विभागिय टोली बीचको एक खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडि रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक मगरले बताए । यस्तै महिलातर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागिय टोली नेपाल आर्मीसँग ३–१ सेटले पराजित भएको छ । खेलमा टाइगर ग्रुपकी कभिषा ओमन अफ दि म्याच हुँदा आर्मीकी पुष्पा चौधरी बेस्ट डिफेन्डर भइन् ।

माघ १ गतेसम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिलातर्फ विभागीय टिममा नेपाल आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरीबल, न्यू डायमन्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेनसहित ३ खेलाडीको सहभागिता छ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लब सहभागी छन् ।
यसैबीच साउथ एसिया सेन्ट्रल जोन भलिवलका अध्यक्ष मोहमद लतिफ पोखरा आएका छन् । पोखरामा जारी टाइगर कप अवलोकनका लागि उनी पोखरा आएका हुन् । उनलाई पोखरा रंगशालामा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले स्वागत गरे । उनीसँगै काठमाडौ बाट नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दसमेत आएका छन् ।

प्रतियोगिताका उपाधि विजेता महिला÷पुरुष टिमलाई समान नगद ३ लाख, उपविजेतालाई समान नगद १ लाख ५० हजार, तेस्रो हुने टिमलाई समान नगद ७५ हजार र सान्त्वना हुने टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद २५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीलाई नगद जनही नगद १० हजारसहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।