साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविता कृति ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ शनिबार हेटौंडामा सार्वजनिक गरिएको छ ।
सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कृति विमोचन कार्यक्रम भएको हो ।
संस्थाका संयोजक निमेष निखिलको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रमका अतिथिहरुसहित कृतिकार शान्ति प्रियवन्दना उहाँकी आमा मैना सुवेदी र छोरा दृष्टान्त विडारीले एकसाथ कृति विमोचन गरेका थिए ।
आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त कुरा राख्नुहुँदै कृतिकार शान्ति प्रियवन्दनाले कविता संग्रहमा समावेश रहेको ‘जवाफ पाउँ सरदार’ शीर्षकको कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार कुन्ता शर्माले कवि प्रियवन्दनाका कवितामा पूर्ण कथा रहेको बताइन् । रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कविता संग्रहमा ३५ कविता छन् ।





