२० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहारा क्लब युकेले आयोजकलाई सिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।
पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका सिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेस्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित सिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली र वीरभद्र आचार्य, प्रतियोगिता संयोजक केशवराज बराल, सहारा युकेका सल्लाहकार मुछेत्र गुरुङ, सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा युकेका पूर्व प्रमुख सल्लाहकार महेश गुरुङ, क्लब सदस्य लगायतको उपस्थिति थियो ।
पोखरा रंगशालामा माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता ससञ्चालन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ ।
प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकका निम्ति खर्च गरिनेछ । पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको साथ रहँदै आएको क्लबमा विभिन्न संघ, संस्था तथा व्यक्तिले निरन्तर सहयोग गर्दै आएका छन् ।





