मेला, महोत्सव र राजनीतिक भेला रोक्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको फैलावट बढेपछि तयारी अवस्थामा रहेका मेला, महोत्सव रोक्न र भेला, सम्मेलनहरु नगर्न आग्रह गरेको छ ।

मंगलबार सूचना निकालेर सिसिएमसिसी कास्कीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीद्धारा जारी सूचनामा यस्ता गतिविधि रोकेर स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ ।

प्रशासनको निर्देशनले पोखरा महोत्सव, लेखनाथ महोत्सव, आहा रारा गोल्डसहित विभिन्न राजनीति कार्यक्रम प्रभावित हुने छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६४ जनामा गरिएको परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको हो ।


प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्चरुपमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीका ७५, बागलुङ ५, स्याङजा ८,म्याग्दी ४, गोरखा ६, तनहुँ ७ र नवपरासी पूर्वमा ९ जना छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका पर्वत, जलजला गाउँपालिका –१ की ७० बर्षिय महिला छन । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।