आहा रारामा १० टिम

आहा रारा गोल्ड कपको २० औं संस्करणमा १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ्ग मर्‍याङ्गदी क्लब र सहारा क्लब पोखरा सहभागी हुँदै छन् । प्रतियोगितामा बिवाइएसी मिनेसोटा अमेरिका पनि सहभागी हुने भएको छ ।

,“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ प्रतियोगिता हुने भएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ६ देखि माघ १५ गतेसम्म हुँदै छ ।

अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको समय तालिका अनुसार मिति तय भएको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा रहेको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटर, सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन हंगकंग निवासी अधिबक्ता लोकदोहोरी गायक समाजसेवी देव गुरुङ, अफिसियल बैंक लुम्बिनी विकास बैंक, इन्टरनेट पार्टनर एयरसन, प्रत्यक्ष प्रसारण ग्यालेक्सी फोके टेलिभिजन,अफिसियल, स्पोर्ट वयर पार्टनर एक्स टेप, अफिसियल एयर लाइन्स बुद्ध एअर, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, गण्डकी र अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु।के।, सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलियासमेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको आम्दानी १ करोड ३६ लाख १ हजार रुपैया र खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
,
प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबद्वारा सन्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेश्रो व्याचको रुपमा उक्त एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् ।

अघिल्लो संस्करणमा प्रतियोतिगाको आम्दानी ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा र खर्च ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा र बचत रकम १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा रहेको क्लबले जनाएको छ ।