आख्यानकार प्रभा बरालको उपन्यास ‘फिलिंगो’ माथि पोखरामा अन्तक्र्रिया गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार प्रस्तुत गरियो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले बराललाई वर्तमान समयकी सिर्जनशलि र नयाँ लेखकको रुपमा अथ्र्याए । आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान विधामा नारी हस्ताक्षरको कमी अनुभव भइरहेको उनले सुनाए ।
लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुन सकिने भन्दै उनले सर्जकहरुलाई हतार नगर्न सुझाए । सरुभक्तले फिलिंगो नारी सहनशीलता भित्रको मौन विद्रोह भएको टिप्पणी गरे ।
साहित्यकार वद्रिविनोद ‘प्रतीक’ ले फिलिंगोमा लेखकको कथा बुन्ने शैली सरल भएकाले पाठकले सजिलै बुझ्ने उल्लेख गरे । समीक्षक सञ्जीव पौडेलले नेपाली लेखकको दाँजोमा उभिन सफल लेखकलाई भाषागत र नेपाली उखान, टुक्काको प्रयोगमा सुधार्न सुझाव दिए ।
उपन्यासकार बरालले महिलाले अहिलेको सभ्य समाजकी सभ्य महिलाले पूर्वाग्रह नराखी मौन विद्रोह गरेको कथा फिलिंगोले बोल्ने उल्लेख गरिन् । उनले भनिन्, ‘किन कसैलाई गालीगलौज गर्ने भनेर नै मौन विद्रोह रोजेको हो ।’
अक्षर क्रियसन्सले प्रकाशन गरेको यो उपन्यास मदन पुरस्कारका लागि मनोनित उत्कृष्ट ९ सूचीमा थियो । फिलिंगोले चितवन साहित्य परिषद्बाट २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारसमेत पाएको छ ।
संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक रिता अधिकारी लगायतले बोलेका थिए ।





