टाइगर कप च्याम्पियनलाई ३ लाख

पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक टाइगर ग्रुप पोखराले शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो ।

प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच÷पाँच टोलीको सहभागिता रहने टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन् । पुरुषतर्फ विभागीय टोलीहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने जनाइएको छ ।

अध्यक्ष शर्माका अनुसार ‘राउन्ड रोविन लिग’का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ । विजेतालाई दिइने पुरस्कार राशिमा अघिल्लो संस्करणमा भन्दा दोब्बर वृद्धि गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित समान ३ लाख, उपविजेता महिला तथा पुरुष टोलीलाई समान १ लाख ५० हजारका पुरस्कार प्रदान गरिनेछ ।

तृतीय हुने टोलीलाई समान रु ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला पुरुष दुवै टोलीलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले गर्ने छिन् । सो टोलीमा श्रीलंकाको महिला भलिबल टोलीका क्याप्टेनसहित तीनजना खेलाडीहरूको सहभागिता रहने प्रचार संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले बताए ।