माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आज (आइबार) बाट सुरु हँदैछ।

माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनमा देशभर र अन्तराष्ट्रिय समेत गरी करीव १ हजार ६ सय ३१ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

विचारको नयाँ संश्लेषण गर्दै समाजबादको नयाँ आधार तय गर्ने लक्ष्यसहित माओवादी केन्द्रले महाधिवेशन लागेको हो।

गत मंसीर ४ गतेदेखि वडा सम्मेलन शुरु गरेको माओवादीले मंसीर ११ गते देशभर पालिका सम्मेलन आयोजना गरेको थियो। यस्तै मंसीर २५ गते प्रदेश सम्मेलन सम्पन्न गरेको थियो।

यसअघि, हिँजो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सम्मेलनबाट गरिने निर्णयहरु भन्दा महाधिवेशनले गर्ने निर्णयहरु उच्चस्तरको हुने भएकाले पार्टीको संगठन, योजना, कार्यक्रम, राजनीतिक विश्लेषण तथा रणनीति लगायतका विषयमा उच्चस्तरको निर्णय गर्न आवश्यक देखिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेसनमा रुपान्तरण गरिएको सो पार्टीले जनाएको छ।

स्थायी कमिटिको सो निर्णयलाई अनुमोदन गर्न आज विहान केन्द्रीय कमिटीको बैठक बस्दैछ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनअघि आइतबार बिहान केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। स्थायी कमिटीको निर्णयलाई आज विहान बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताइएको छ।

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने बुझिएको छ। त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुंगो लगाउने छ। छुटेका प्रतिनिधिको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मा दिइएको छ।

महाधिवेशनले विभिन्न प्रस्तावहरुमा छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको छनोट गर्ने पार्टीले जनाएको छ।