चिसोबाट बालबालिकालाई जोगाऔं

मौसम निकै चिसो छ | प्रदुषण निकै बढेको छ | यो अवस्थामा बालबालिकालाई बिभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् | रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टन्सिल बढ्ने, ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने आदि | पहिले निमोनिया तथा दमको समस्या भएका बालबालिकालाई झनै गाह्रो हुन्छ | कहिलेकाँही एक्कासी सास फेर्न गाह्रो हुने, कोखा हान्ने, घ्यारघ्यार हुने, ओंठ / जिब्रो/ औंला निलो हुने आदि | यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालको इमर्जेन्सीमा लैजानु पर्दछ | कुर्नु हुँदैन | अस्पतालमा अक्सिजन, बाफ, नशाबाट औषधि आदि दिंदा छिटो निको हुन्छ | आफैले औषधि किनेर समय र स्वास्थ्य नष्ट गर्नुहुँदैन |

बालबालिकालाई दिउँसो घाममा राख्ने, बिहानदेखि रातिसम्म मनतातो झोल पदार्थ खुवाइरहने, न्यानो कपडा लगाइदिने, कान, घांटी तथा छाती र हातखुट्टामा न्यानो कपडा लगाइदिने, फ्लु तथा निमोनियाको खोप लगाउने, ज्वानो, अदुवा, बेसार, तुलसी, कागतीपानी पकाएर पटकपटक खुवाउने, सन्तुलित आहार खुवाउने तथा घाम नलागेको बेला न्यानो ब्लांकेट वा सिरकभित्र राख्नुपर्दछ |

बच्चा सुत्ने कोठामा झ्यालढोका बन्द गरेर कोइला बालेर सुत्नु हुँदैन | रातो भएको कोइला वा हिटरले न्यानो बनाउने तर सुत्नेबेला ती कोइला कोठाबाहिर राख्नुपर्दछ | कोठाको भेन्टिलेसन अलिअलि सधै कायम गर्नुपर्दछ | प्रोटिन तथा भिटामिन सि भएका खाना खुवाउनुपर्दछ |

अलिअलि लक्षण देख्नासाथ नजिकको चिकित्सकलाई भेटेर स्वास्थ्य परिक्षण गराउने तथा उहाँले दिएका औषधि नियमले खुवाउँदा आकस्मिक अवस्थाको सामना गर्नुपर्ने अवस्था नगण्य हुन्छ | तापक्रम, स्वाश्प्रश्वास तथा अक्सिजनको मात्रा नियमित नाप्नु राम्रो हुन्छ | यस्तो बेला धामीझाँक्री, जान्ने, हेर्नेजस्ता कुराको पछि लाग्नुहुँदैन | जति धेरै सुबिधा छ, त्यस्तो स्वास्थ्य संस्थामा उपचार गराउनु बुद्धिमानी हुन्छ |