गुप्तेश्वर महादेव क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा शनिबार भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा ७ सय ७२ विद्यार्थी छन् । तीमध्ये ५ सय ७ छात्रा छन् ।

गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा करिब ६ करोड लागतमा ३ तला नवनिर्मित भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । कार्यक्रममा क्याम्पसका संस्थापक सल्लाहकार क्याप्टेन खड्गबहादुर शाहीले गुणस्तरीय शिक्षा अपरिहार्य भएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा टंकराज अधिकारीले क्याम्पसमा हाल बिएड्, बिबिएस, एमबिस, बिएचएम र बिआइएमको पढाइ हुने बताए । २०७७।०७८ मा ४ करोड ५ लाख ७६ हजार ४ सय ८३ आम्दानी र ३ करोड ५९ लाख ७४ हजार ५ सय ३९ खर्च भएको साधारण सभामा कोषाध्यक्ष ज्ञाज शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ६७ लाख २३ हजार ७ सय शुल्क उठ्न बाँकी छ ।

यसअघि क्याम्पसको भौतिक विकासका लागि जिल्ला समन्वय समिति कास्कीको प्राविधिक एवं भारतीय राजदूतावासको ४ करोड ६४ लाख, गुप्तेश्वर गुफाको १ करोड १० लाख र विश्वविद्यालय अनुदान आयोगको ४९ लाखको लागतमा भवन निर्माण भएको थियो । आवश्यकताका आधारमा अन्य संरचना थप गर्दै जाने क्याम्पस व्यवस्थापन समितिको लक्ष्य छ ।

सो अवसरमा लेखा समिति संयोजक ईश्वरीप्रसाद लम्सालले लेखा प्रतिवेदन तथा ज्ञात शर्माले विधान संशोधन मस्यौदा २०७८ प्रस्तुत गरे ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्राडा भूपति ढकाल(कमल), पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा दिलबहादुर क्षेत्री, क्याम्पस संस्थापक अध्यक्ष खगराज शर्मा आचार्य, गुफाका वरिष्ठ उपाध्यक्ष गोपाल बराल, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरका प्रमुख निर्मल बराल, छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले शैक्षिक संस्थाले भौतिक संरचनासहित गुणस्तरीय शिक्षामा जोड दिए ।