पोखरा ८ सिद्धार्थचोकमा रहेको स्मार्ट उत्पादन सहकारीले पोखरा २२ पुम्दीभुम्दीमा बाख्रापालन सुरु भएको छ । चाडै दूध प्रशोधन केन्द्र र साबुन उद्योग खोन्ने तयारी भएको शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा जानकारी दिइयो ।
३ वर्षअघि स्थापना भएको यो सहकारीमा हाल १ सय २१ महिलासहित २ सय ८२ सेयर सदस्य छन् । सभामा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सहकारीलाई लक्ष्य र उद्देश्य अनुरुप उद्यमीको संगठनको रुपमा सहकारी आवश्यक भएको बताए ।
नेपालको अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री बरालले अर्थतन्त्रलाई उत्पादन केन्द्रित गर्नुपर्ने विचार राखे । पैसाले पैसा किन्ने मात्र गर्दा थप चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । स्वदेशमा चाहिने वस्तु उत्पादन गर्ने जिम्मासहित सहकारीलाई अघि बढाउनुपनेमा उनको जोड छ ।
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बरालले नेपालको राजनीतिक अवस्था अहिले निकै जटिल रहेको उल्लेख गरे । अस्थिर राजनीति हुँदा विकास, निर्माण त्यसको प्रत्यक्ष मारमा पर्ने उनको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रबन्धक नरेश पाण्डेले अनुदानका कार्यक्रमबाट ठूला किसानले मात्र मुनाफा लिएको दाबी गरे । संस्थाका अध्यक्ष बलराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर भुजेल, सचिव केदारप्रसाद कोइराला लगायतले बोलेका थिए ।
सहकारीको सेयर पुँजी १ करोड १६ लाख ४४ हजार १ सय छ भने १ करोड ८६ लाख ९४ हजार ६ सय ६४ रुपैयाँ उत्पादनमा लगानी गरेको अध्यक्ष गौतमले बताए ।






