नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणना अनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।
सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरी पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भइ । कर्णाली प्रदेशका मुख्यमन्त्री्समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।
पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए ।
उनी विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए । गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए । प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे ।
काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०७० मा भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद बने । १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए ।
०७४ को आम चुनावपछि पाण्डे राष्ट्रियसभा सदस्य बने । दुई वर्षे कार्यकालको गोला परेपछि २ वर्षअघि नै उनको कार्यकाल सकिएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) सक्ने तयारीमा छन् ।




