वल्डलिंकले ल्यायो ६ सय एमबिपिएसको इन्टरनेट

नेपालमा अब विश्वका अन्य मुलुकको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६ सय एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।

विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । योसँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा पनि १ सय ५० एमबिपीएस हुने उनको दाबी छ । नेपाल भन्छन्, ‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तीमा पनि १ सय ५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’

वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय अर्थात मासिक १ हजार २ सयमा १ सय ५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १ सय ५० एमबिपीएससहित २ सय २५ र ३ सय ०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउँछन् । वल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने तर यसका लागि डुअल ब्यान्ड भएको राउटर आवश्यक पर्नेछ ।

यो योजनाले इन्टरनेट सेवाग्राहीको वाइफाइ कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए । हाल ५ लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले ३ वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको बताए । हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ ।

देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उनले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिए।

सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको निर्देशक अग्रवालले बताए । उनले भने, ‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला सहरहमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवा सीमित रहेको अवस्थामा हामी गाउँ गाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौं ।’