महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु चुनिएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरे । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरे ।

महामन्त्री पदमा ४३ मत बदर भएको थियो । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार थिए ।

यता, महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएका छन् । संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर पनि हार भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री रिजालले राजिनामा पेश गरेका हुन् । कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गरेका थिए ।