शिक्षक सेवा आयोगले माग्यो १५ सय शिक्षक

शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी १ हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट बुधबार सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन https://online.tsc.gov.np दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।