शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ ।

२०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मेवारीसँगै पोखरामा रंगशाला निर्माण हुन पुग्यो । फुटबल मैदानसहित केही पूर्वाधार बने । अहिले फुटबल मैदानले नयाँ स्वरुप लिईसकेको छ । लिगकै इतिहासमा पहिलो पटक राजधानी बाहिर ए डिभिजन लिगको प्रतिस्पर्धा गराउने अवसर पोखराले पाएको छ । नकाउट फुटबल म्याच हेर्दै आएका पोखरेली दर्शकले पहिलो पटक ए डिभिजन लिग अन्तर्गत चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बीचको प्रतिस्पर्धा हर्ने अवसर पाउने छ । अन्यथा लिगकै खेल हेर्न राजधानी धाउनुको विकल्प थिएन । २०७६ सालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना भएको थियो ।

ए डिभिजन लिगको लागि पोखराको फुटबल मैदान तयारी गरिएको छ । गोडमेल गरिएको छ । १६ हजार ५ सय दर्शक अटाउने प्यारापिट तयारी छ । ३ हजार ५ सय सिट क्षमता जडान गर्न बाँकी छ । मनाङले पोखराको मैदानमा लिगका तीन खेल खेल्ने छ । दोस्रो खेल मनाङले ब्रिगेड ब्वाईज(पुस १७ गते) र तेस्रो खेल च्यासल युथ क्लबसँग(पुस २४ गते) खेल्ने कार्यतालिका छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले लिगलाई होम एण्ड अवेको अवधारणा ल्याएसँगै मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्ड बनाएपछि पोखरेली दर्शकले लिग हेर्ने पाउने अवसर जुरेको हो । आगामी वर्ष एन्फाले होम एण्ड अवेलाई महत्वको साथ जोडदिए मोफसलका फुटबल मैदानलाई क्लबहरुले होम ग्राउण्ड बनाउने छन् । त्यसले फुटबल विकासमा नयाँ आयाम थपिने विश्वास छ ।

मनाङ मस्र्याङ्दी गण्डकी प्रदेशकै क्लब हो । मनाङको शीरविन्दुबाट बगेको मस्र्याङ्दी नदीकै नामबाट मनाङ मस्र्याङ्दी क्लब नामाकरण हुन पुग्यो । मनाङ मस्र्याङ्दी मोसफल मध्ये सबैभन्दा बढी फ्यान पोखरामै छन् । मनाङको खेल हेर्न दर्शक लालायित छन् । त्यसमा पनि मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बीचको प्रतिस्पर्धा रोचक रोमाञ्चक र प्रतिस्पर्धात्मक हुन्छ । ‘मैदान मर्मत सम्भारको काम सकिएको छ । अब मार्किङ गर्न बाँकी छ’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने–‘मैदानको घाँस काटेपछि मार्किङ गर्ने छौं ।’ प्यारापिट समेत सरसफाई गरिएको छ । मोफसलमा आयोजना हुने लिगले फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास अध्यक्ष गुरुङको थियो ।

लिगलाई उपत्यका बाहिर लैजाने एन्फाको योजना थियो । त्यसलाई नै आधार बनाएर मनाङ मस्र्याङ्दी क्लबले पोखरामा खेलाउने निर्णयसहित एन्फामा प्रस्ताव गरेको थियो । ‘मनाङ मस्र्याङ्दी क्लबले लिग उपत्यका बाहिर लैजाने प्रस्तावलाई एन्फाले स्वीकार गरेपछि पोखरामा ल्याएका हौं ।’ मनाङ मस्र्याङ्दी क्लबका सदस्य विजय घलेले भने–‘लिग खेल्ने क्लबलाई समेत मनाङ मस्र्याङ्दीले सहमति गराईसकेको छ ।’ पोखरामा लिग खेल्न मनाङको प्रस्तावलाई नेपाल पुलिस क्लब, ब्रिगेड व्वाईज र च्यासल युथ क्लबले सहयोग गरेको उनको भनाई थियो । ‘पोखरामा लिग गराउने योजनालाई तीनवटै क्लबले प्रस्तावलाई स्वीकार गरे । सहयोग गरे ।’ उनले भने ।

क्लबलाई लिगकै लागि उपत्यका बाहिर जाउ भन्न मिल्ने अवस्था छैन् । क्लबहरुले सहमति नजनाएसम्म आयोजना हुदैन् । उनका अनुसार क्लबहरुले सहमति जनाएपछि पोखरामा लिग खेलाउने सम्भव भएको हो । ‘मैदानको तयारी फाईनलस्टेजमा आईपुगेको छ । दशदिन अघिदेखि मर्मत शुरु गरिएको थियो’, उनले भने–‘लिगको खर्च मनाङ मस्र्याङ्दीले नै गर्ने छ ।’ एन्फाले प्राविधिक सहयोग गरेको छ । उनका अनुसार एउटै खेलको लागि ६÷७ लाख रुपैयाँ खर्च हुन्छ । खर्चको लागि मनाङ मस्र्याङ्दीले टिकटको व्यवस्था गर्ने जनाएको छ । यद्यपी पोखरामै खेलायने लिगको लागि मनाङ मस्र्याङ्दीले विभिन्न संघसंस्थाबाट समेत सहयोग जुटाएको छ । ‘फुटबल इतिहासमा ए डिभिजन लिग उपत्यका बाहिर आयोजना पहिलो हो ।’ उनको भनाई थियो ।