चिन्तु गिरीलाई गण्डकी वाङ्मय पुरस्कार

स्याङ्जाका साहित्यकार गण्डकी वाङ्मय पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी साहित्य संगमले शनिबार आयोजना गरेको कार्यक्रममा संगम अध्यक्ष डा. कृष्णराज अधिकारी लगायतले गिरीलाई पुरस्कार प्रदान गरे ।

पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ । गिरी ३ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । उनका ६ कृति प्रकाशित छन् । संस्थाका सदस्य छविलाल आचार्य संयोजक र प्राडा रविलाल अधिकारी र प्राडा मानबहादुर केसी सदस्य रहेको प्रतिभा छनोट समितिले गिरीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

पुरस्कृत व्यक्तित्व गिरीले देश र समाजका लागि गरेको साहित्य सिर्जनाको कदर हुँदा ऊर्जा थपिएको उल्लेख गरे ।

संस्थाका अध्यक्ष डा कृष्णराज अधिकारीले नेपाली वाङ्मयमा अहिले रहेका अन्य पुरस्कारभन्दा यो पुरस्कार पृथक र विशिष्ट भएको बताए । उनले भने, ‘पुरस्कार स्थापना र साहित्यिक गतिविधिका लागि राज्यले सहयोग नगरे पनि जनस्तरबाट सहयोग जुटेको छ । यस्ता पुरस्कारको विशिष्ट महत्व र मूल्य छ ।’

संगमले एक वर्ष गोकुल वाङ्मय पुरस्कार र अर्काे वर्ष गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्ने गरेको छ । गण्डकी वाङ्मय पुरस्कारबाट यसअघि भेषजराज शर्मा, भाष्कर, दिल सहानी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, प्राडा रविलाल अधिकारी, पोषराज पौडेल, गोपिरमण उपाध्याय र रविकिरण निर्जीव पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेल, संस्थाका अक्षयकोषदाता तोयनाथ लामिछाने, कवि नुमराज बराल, संस्थाका सचिव भीम रानाभाट, कोषाध्यक्ष विजया सुवेदी लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।