आइतबार भक्तपुरमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले एमाले शीर्ष नेताहरुको वरियताक्रम तोकेको छ ।
वरियताक्रममा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्ष, महासचिव र सचिवहरूको वरियताक्रम तोकिएको छ ।
वरियताक्रमतर्फ उपाध्यक्षको पहिलो वरियतामा युवराज ज्ञवाली छन् । उनीपछि अष्टलक्ष्मी शाक्य दोस्रो वरियता रहेकी छन् । नेकपा माओवादी केन्द्रबाट अलग्गिएर एमालेमा मिसिएर उपाध्यक्ष बनेका रामबहादुर थापा ‘बादलको’ वरियता क्रम तेस्रो, विष्णु पौडेलको चौथो, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको वरियता क्रमशः चौँथो र पाँचौँ रहेको छ ।
महासचिवमा शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहेका छन् । उनीपछि दोस्रो वरियतामा पृथ्वीसुब्बा गुरुङ दोस्रो र तेस्रो वरियतामा बिष्णु रिमाल छन् ।
यसैगरी सचिवतर्फ पहिलो वरियतामा टोपबहादुर रायमाझीपछि क्रमशः लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल रहेका छन् ।






