५ वर्षे रणनीति बनाएर मानित विश्वविद्यालय बन्दै जनप्रिय

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्च शिक्षा दिने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् ।

जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवमा भण्डारीले देशभरीका १ हजार ४ सय सामुदायिक क्याम्पसमध्ये जनप्रियको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने, ‘व्यापारले मात्रै मुलुक सम्पन्न हुँदैन, आविष्कार चाहिन्छ । त्यसका लागि अनुसन्धान आवश्यक छ ।’

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमसीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता गरे । उनले ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको सुनाए ।

पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४८ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर बिएएलएलबी, बिसिए, बिएस्सी फिजिक्स, बिएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातक तहमा पर्वतीय पर्यटन व्यवस्थापन र एमबिए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ । यो मानित विश्वविद्यालयतर्फको पाइला हो ।

क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २३ करोडको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार परशुराम बराल, दामोदर चालिसे, प्रकाशदेव पालिखे, ऋषि बुढाथोकी, देवीप्रसाद बस्ताकोटी, धु्रवराज पौडेल, दिननाथ शर्मा, देवी पनेरु, किसान भण्डारी, विजय घिमिरे, गोविन्द महत लगायतकाले क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्म अनुसार अगडि बढ्न जोड दिएका थिए ।
जनप्रिय रिसर्च एन्ड कन्सल्टेन्सी सेन्टरद्वारा प्रकाशित ‘जनप्रिय जर्नल अफ इन्टरडिसिप्लिनरी स्टडिज’ का प्राध्यापक शंकरप्रसाद भण्डारी र प्राडा विकासकुमार केसीले संयुक्त रूपमा लोकार्पण गरे । त्यस्तै ‘जर्नल अफ टुरिजम एण्ड एड्भेन्चर’ को चौंथो अंक प्राडा रमेशराज कुँवरले सार्वजनिक गरेका थिए ।
अध्यक्ष तारा गिरीले आफू र पत्नी ज्ञानुको नामबाट स्थापना गरेको ‘ज्ञान तारा अक्षय कोष’ बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक गंगाराम पौडेल र कर्मचारी राजेन्द्र श्रेष्ठलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्मान गरेका थिए । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट प्रशासक महादेव पालिखे सम्मानित भएका छन् ।

क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिबल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेबुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, सिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरियो ।

प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनोटमा परेको जेएमसीले २ पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।

समारोहमा क्याम्पसका उपाध्यक्ष वीरबहादुर अधिकारी र सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले पनि बोलेका थिए ।