कतार र अमेरिकी कम्पनीसँग साझेदारी गर्दै एसवन बिल्डर्स

नेपाल, कतार तथा अमेरिकामा रहेका ३ कम्पनीबीच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसायमा गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो । एसवन ग्रुप अफ कम्पनी तथा अमेरिकामा सिटी प्लानर तथा डेब्लपरको रुपमा काम गरिरहेको एम्प्लीफाई डेब्लप्मेन्ट तथा कतारमा निर्माण क्षेत्रमा काम गरिरहेको एसबिजी कन्ट्राक्टिङ संघबीच आगामी दिनमा निर्माण तथा रियल स्टेट व्यवसाय मिलेर गर्ने सम्झौता भएको हो ।

एम्प्लीफाइ डेब्लपरका अध्यक्ष कुलमणि आचार्यले १८ वर्षदेखि अमेरिकामा नगरपालिका तथा स्माट सिटीमा काम गरिरहेको अनुभव र प्रविधि नेपालको विकासमा लगाउने बताए । एसवन ग्रुपका अध्यक्ष सुरज न्यौपानेले कम्पनीले नेपालमा आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा काम गरिसकेको बताए ।

एसवन बिल्डर्स एन्ड सप्लायर्सले अनुभवी इन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पूर्ण निर्माण सामानको जिम्मा लिएर चितवन तथा पोखरामा कार्यालय सञ्चालन गरी सेवा दिइरहेको अध्यक्ष न्यौपानेले उल्लेख गरे । आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने योजना उनले सुनाए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की, गायक प्रेमराजा महत, महमत मोहन, डा रामप्रसाद धिताल, डा नारायण मरासैनी, डा पशुपति पोखरेल, ई. सुनील रिजाल, ई. शिव दंगाल, कृष्ण रेग्मी, गिरीराज अधिकारी र किरण मरहठ्ठाले बोलेका थिए ।