नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी भएका छन् ।
शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलको पकड रहेको कास्कीमा सभापति शेरबहादुर देउवा पक्षधर सभापति चुनिएका छन् ।
शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।
कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९ सय २६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी थिए ।




