शनिबार कास्कीका सबै पालिकामा माओवादी अधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँच वटै स्थानीय तहमा पालिका सम्मेलन गर्ने भएको छ ।

आसन्न राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले पालिका अधिवेशनमार्फत पालिका कमिटी चयन गर्न लागेको हो ।

पोखरा महानगरपालिका तथा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा एकै दिन गरिने सम्मेलनको सबै तयारी पूरा भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्की संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।

सम्मेलनले पालिकामा पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन ऐतिहासिक भूमिका खेल्ने उनको दाबी छ ।

माओवादी केन्दले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशन शनिबार भव्यताका साथ सम्पन्न गर्ने जनाएको छ । महानगर कमिटीले शुक्रार पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाउँदै अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।

पार्टीका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अधिवेशनलाई भौतिक रुपमा सम्बोधन गर्ने छन् । अधिवेशनले आगामी ३ वर्षका लागि ९९ सदस्सीय महानगर कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशनका लागि डा कृष्णराज अधिकारीको संयोजकत्वमा ५ सदस्सीय निर्वाचन समिति गठन गरिएको छ ।

महानगर अध्यक्ष विश्वप्रकाश लामिछानेले अधिवेशनका लागि १२ उपसमिति गठन गरिएको बताए । अधिवेशनका अवसरमा जनयुद्धका सहि, घाइते तथा बेपत्ताका परिवारजनलाई सम्मान गरिने महानगर कमिटी कार्यालय सदस्य जनक पराजुलीले जानकारी दिए ।

अधिवेशनमा महानगरका ३३ वटै वडाबाट निर्वाचित ५ सय १ प्रतिनिधि सहभागी हुने छन् ।