नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब सक्रिय राजनीतिकमा लाग्ने जनाए । पार्टीका नीति, नियम आत्मसात् गर्दै कांग्रसलाई अझै सुदृढ र बलियो बनाउन लाग्ने उनको प्रतिवद्धता छ ।
प्रजातन्त्र स्थापनाका लागि पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्र्दै उनले आफ्ना बुबा दयाशंकर पालिखेको स्मरण गरे । कांग्रेसको यही मंसिर १० गते जिल्ला अधिवेशन हुँदै छ ।
२०२९ सालमा पृथ्वीनारायण क्यामपसबाट नेपाल विद्यार्थी संंघको सदस्यता लिएर पालिखेले राजनीतिक यात्रा थालनी गरेका थिए । २०५७ देखि २०६० सालसम्म उनी नेपाल पर्यटन बोर्डमा कार्यकारी बोर्ड सदस्य थिए । पालिखे नेपाल ट्रायथोलन संघका संस्थापक अध्यक्ष, नेपाल चीन जनमैत्री संघ पोखरा अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखरा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, रेडियो अन्नपूर्णका संस्थापक अध्यक्षसमेत हुन् ।
पालिखेले खेल मार्फत पर्यटन पवद्र्धन गर्न सकिन्छ भन्ने अवधारणासहित सहित २०५० सालमा साहसिक खेल ट्रायथोलन संघ स्थापना गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पालिखेको महत्वपूर्ण भूमिका छ ।
त्यस्तै, जाऊँ है पोखरा, पोखरा भ्रमण वर्ष २००७, उज्यालो पोखरा, पानीको मुहान शुद्धिकरण र नेपाल भेन्टिलेटर सोसाइटी कास्कीको संयोजकसमेत भएर काम गरिसकेका पालिखेको सामाजिक कार्यमा योगदान छ ।




