अम्बिका–भागवत फाउन्डेसनद्वारा सञ्चालित संघर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ । समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउन्डेसन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई पुरस्कार दिन सिफारिस गरेको हो ।
सभ्य समाज निर्माणमा संघर्षरत प्रतिभालाई हरेक २ वर्षमा अर्पण गरिने पुरस्कार राशि २५ हजार, सम्मानपत्र र दोसल्ला छ । शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील फाउन्डेसनले समय। समयमा सहयोग हस्तान्तरण, निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सञ्चालन गर्दै आएको सचिव देवी श्रेष्ठले बताइन् ।
पिबएड, एलएलबीका साथै राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेका असफल गौतम दर्जन कृतिका सर्जक हुन् । झण्डै ३ दर्जन बढी कृतिका सम्पादक, ४ शैक्षिक तथा सामाजिक कोषका संस्थापक उनी यसअघि विभिन्न सम्मान तथा पुरस्कारबाट विभूषित भइसकेका छन् ।
असफल २०५८ सालदेखि पोखरामा रहेर भाषा साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा क्रियाशील छन् । हाल मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी र स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी महासचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष, डागर स्मृति प्रतिष्ठानका सहसचिव लगायतका भूमिकामा उनी क्रियाशील छन् ।
फाउन्डेसनले शान्ति माध्यमिक विद्यालय अर्मलाका ८ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति व्यवस्था, कोरोना महामारीमा परेका विपन्न परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री, दुवै मृगौला पीडित वरुण विकलाई आर्थिक सहयोग प्रदान गरेको छ । हालसम्म २ हजारभन्दा बढी सीमान्तकृत समुदाय लाभान्वित भएको फाउन्डेसनकी कोषाध्यक्ष माधवी नेपाल थापाले बताइन् ।




