८० जनालाई मन्टेसरी तालिम

गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ८० जनालाई ३ महिने तालिम दिइएको छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखरा महानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालित छ ।

अघिल्लो आर्थिक वर्ष सञ्चालन भएका ३ महिने तालिमहरु कोभिड १९ का कारणले निर्धारित समयमा सम्पन्न भएका थिएनन् । सहभागीलाई कोर्स सम्पन्न तह एकको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले आगामी दिनमा सीप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पोखरा महानगरपालिका स्थानीय सरकार भएकाले आफ्नो जिम्मेवारीप्रति पूर्ण उत्तरदायी भएको बताए ।

सिटिइभिटी गण्डकी प्रदेश कार्यालय प्रमुख प्रमोद आचार्यले तालिम तालिमका लागि मात्र नभई सीप विकास गर्ने माध्यम बन्नुपर्ने बताए । गण्डकी प्रदेश सरकार र स्थानीय सरकारमार्फत् सीप लिएका व्यक्तिलाई रोजगार बनाउनका लागि कार्यक्रम अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।

तालिमबाट सीप सिकेका ५० प्रतिशतभन्दा बढी प्रशिक्षार्थीलाई तत्कालै रोजगारीको व्यवस्था गर्न सकिने प्रशिक्षक मिलन केसीले बताइन् । पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं गण्डकी बहुप्राविधिक शिक्षालयका सञ्चालक सदस्य चेतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना र पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पनि बोलेका थिए ।

गण्डकी बहुप्राविधिक शिक्षालयले आ.व. २०७७÷०७८ मा ११ समूहका लागि छोटो अवधिको तालिम चलाएको थियो ।