पोखरेली साहित्यकार रेशम गिरी ‘चक्रधूम’ उपन्यास लिएर पाठकमाझ आएका छन् । शनिबार आयोजित कार्यक्रममा प्राज्ञ सरुभक्तले उपन्यास सार्वजनिक गरे ।
‘चक्रधूम’मा परिबन्धमा परी अदालतद्वारा दोषी ठहर भएका कैदीको कथा रहेको लेखक गिरीले बताए । असुरक्षित नारीका समस्यालाई प्रस्तुत गरेको उपन्यासमा बच्चादेखि वृद्धासम्मले भोग्नुपरेका त्रासदपूर्ण अवस्था चित्रण गरिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ सरुभक्तले अदालत भित्रका विषयवस्तुमा कमैमात्र पुस्तक प्रकाशन हुने गरेको बताए । गिरीको पुस्तकमा पाठकले नयाँ स्वाद भेट्ने उनले बताए ।
डोलराज अर्यालले सर्जक गिरीलाई बहुआयमिक प्रतिभाका रुपमा चिनाए । डा. भूमीराज बस्ताकोटीले उपन्यासबारे केही स्मरण सुनाए । पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले लेखक गिरी कास्कीकोटको अमूल्य सम्पत्ति भएको धारणा राखे ।
प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलोपटक पुस्तक विमोचन गरेको जनाउँदै कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । उनले गण्डकी प्रज्ञा प्रतिष्ठानले अहिलेसम्म गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा समेत प्रकाश पारे ।
उपन्यासको प्रकाशन बिएन पुस्तक संसार काठमाडौंले गरेको हो । बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसी उपन्यासले पाठकको मन जित्नेमा विश्वस्त देखिए । अदालतले दोषी करार गरेका तर निर्दोष कैदीले फजुलमा खेपेको अत्यासलाग्दो कथा उपन्यासमा आर्कषक तरिकाले प्रस्तुत गरिएको उनको भनाइ छ ।
लेखक गिरीको ‘संविधान’ मुक्तक संग्रह पहिलो प्रकाशित कृति । अनिवार्य नेपाली अभ्यास पुस्तक कक्षा १०, नेपाली व्याकरण बोध अभिव्यक्ति र प्रयोगात्मक अभ्यास कक्षा ८, शिक्षक सेवा आयोग परीक्षा सफलता मञ्च सामाजिक अध्ययन माध्यमिक तह र निम्न माध्यमकि तह, मेरो एसइई सामाजिक अध्ययन र अभ्यास, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, मेरो सजिलो सामाजिक अध्ययन र अभ्यास कक्षा ८ र कक्षा ९ शिक्षासँग सम्बन्धित उनका प्रकाशित पुस्तक हुन् । उपन्यास गिरीको जन्म कास्कीको रमणीय गाउँ कास्कीकोटमा भएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका परिषद सदस्य कृष्णप्रसाद पौडेल र उपकुलपति गोरे गुरुङले पनि बोलेका थिए ।





