वक्तृत्वमा अनुष्का प्रथम

पोखरा महानगरपालिका वडा नं. १७ को बाल मञ्चले आयोजना गरेको वक्तृत्व कला प्रयियोगितामा घारीपाटन बाल क्लबकी अनुष्का रिजाल प्रथम भएकी छन् ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार भएको प्रतियोगितामा द्वितीय शेरजागृति बाल क्लबकी वन्दना कार्की, तृतीय छोरेपाटन माविकी सुदीप सुवेदी र सान्त्वना पार्टी माविका प्राञ्जल परियार भए । ‘बाल अधिकार, आजको सवाल’ विषयमा भएको प्रतियोगिताका लागि बाल हितकारी परियोजनाले सहयोग गरेको थियो ।

प्रतियोगितामा १२ प्रतिश्पर्धी थिए । निर्णायकमा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम भुसाल, जानकी माविका प्रधानाध्यापक अर्जुन कँडेल र ढुंगेसाँघु माविका सहायक प्रधानाध्यापक ध्रुवबन्धु रिजाल थिए ।

कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बालबालिकाको सर्वांगीण विकास नभएसम्म समाजअघि बढ्न नसक्ने बताए । वडा कार्यालयले बालबालिका, वृद्धदेखि समाजमा पछि परेका नागरिकलाई मध्यनजर गर्दै विकास, निर्माणका कार्य सञ्चालन गरेको उनले उल्लेख गरे ।

समारोहमा बाल अभियन्ता प्रिन्सा रेग्मीले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई आफ्नो तर्फबाट पुरस्कारसमेत प्रदान गरिन् ।

कार्यक्रममा पोखरा १७ का जनप्रतिनिधिहरु बैकुण्ठ भण्डारी, तारा सेवा र शान्तदेवी गुरुङ, छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मी, बाल मञ्चकी सचिव प्रतीक्षा मल्ल ठकुरी लगायतले बोलेका थिए । कार्यक्रम वडा बाल मञ्च अध्यक्ष समीक्षा लामिछानेको अध्यक्षतामा भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!