नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३ सय ८३ पुगेको छ । माओवादी कास्की सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित मितिभित्र पोखरा महानगरपालिका र ४ गाउँपालिकामा गरी सो संख्यामा पार्टी सदस्यता नवीकरण भएको पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । यसअघि कास्कीमा माओवादीका ८ हजार २ सय पार्टी सदस्य थिए ।
करणले पार्टीमा युवा, महिला र उत्पीडित समुदायको आकर्षण बढेको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीमा पछिल्लो समय आकर्षण बढेको छ । महिला, दलित, युवा लगायतको पार्टी कमिटीमा प्रतिनिधित्वको ग्यारेन्टी विधानमा भएपछि माओवादी रोज्ने बढेका छन् ।’
माओवादी केन्द्र कास्कीले मंसिर ४ गते शनिबार जिल्लाका ७२ वटै वडामा एकैसाथ अधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रले तोकेको मितिमा नै सबै वडाको अधिवेशन सम्पन्न गरिने र त्यसको सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय प्रतिनिधि एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले बताए । सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिनेछ । सर्वसहमति नभएकाको हकमा निर्वाचनका प्रक्रियासमेत अवलम्बन गर्न सकिने नेता कोइरालले जानकारी दिए ।
कोइरालाले पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरि माओवादीमाथि आकर्षण बढिरहेको जनाए । उनले भने, ‘अहिले पनि देशको समग्र राजनीति माओवादी केन्द्रकै एजेन्डवरिपरि घुमेको छ । वडा, पालिका र राष्ट्रिय सम्मेलनपछि माओवादी देशको पहिलो शक्ति बन्ने गरी नयाँ उत्साहका साथ जनतामा जानेछ ।’
मंसिर ४ गतेको माओवादीको वडा सम्मेलनको उद्घाटन देशभर एकै पटक बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल रुपमा गर्ने कार्यक्रम छ ।






