नेपाली कांग्रेसको पर्वत जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार शुल्क तोकिएको छ ।
नेपाली कांग्रेसको बुधबार भएको कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार शुल्क तोकिएको छ ।
जिल्ला सभापतिका लागि १ लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ । यस्तै क्षेत्रीय सभापतिका लागि १५ हजार तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि १० हजार तोकिएको छ ।
कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको दाबी गरे । ‘जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उम्मेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो,’ उनले भने, ‘दलित, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका उम्मेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।’
केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार शुल्क तोकेको छ । यस्तै, प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई ५ हजार, उपसभापति र सचिवलाई ३ हजार, सहसचिवलाई २ हजार ५ सय र सदस्यलाई र्२ हजार शुल्क निर्धारण गरिएको छ ।




